लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरूले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले २७ पुसको दिउँसो ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए । प्रदेशको भागबन्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा (एमाले) ले मुख्यमन्त्री पाउने सहमति भएको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्ने सम्भावना छ ।
सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता गिरीसहित सत्ता पक्षीय गठबन्धनका नेताहरूको बैठकले मङ्गलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका थिए ।
बैठकमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको एमालेका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए । लुम्बिनी प्रदेशमा एमालेका २९, नेकपा (माओवादी केन्द्र)का १०, राप्रपाका चार, जसपा र जनमतका तीन/तीन सदस्य छन् ।
कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । नागरिक उन्मुक्तिका चार र स्वतन्त्रबाट दुई सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका तीन र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0