सयौंपटक हवाइजहाज चढें, यती एयरलाइन्समा धेरै वर्ष पहिले चितवन गएको थिएँ । त्यो बेला मलाइ हवाइजहाज हैन, बिक्रम टेम्पु चढेजस्तो लागेको थियो । खटारा आवाज तथा तलमाथि बम्पिंग गर्दा मलाइ चितवन पुग्छु जस्तो पटक्कै लागेको थिएन । चितवन पुग्दा ठूलो कालबाट बाँचेजस्तो अनुभव भयो । फर्किँदा यतीको टिकेट क्यान्सिल गरेर गोरखा एयरमा आएँ । त्यसपछि बुद्ध एयरलाई प्राथमिकता दिएँ ।
यती एयर नेपालको सबैभन्दा बदनाम र असुरक्षित एयरलाइन्स हो । युरोपलगायत विश्वका धेरै देशले यो जहाज नचढ्न सिफारिस गरेका छन् । कतै पढेको थिएँ – विश्वका खतरनाक एयरलाइन्समध्ये यती पाँचौं नम्बरमा छ । यसको रेटिङ ७ मा १ मात्र छ । उडान क्यान्सिल गरेर यात्रुलाई दुख दिनेमा यती एयर पहिलो पंक्तिमा छ ।
मैले धेरै चढ्ने बुद्ध एयर हो । बुद्ध एयर पनि धेरै पुराना जहाज चलाएर ढुक्क हुने खालको छैन । नेपाल एयरलाइन्स त कमिसनको अखडा बनेको सबैलाई थाहा छ । नेपालका प्रायः एयरलाइन्स पुराना, थोत्रा, अरू देशमा काम नलाग्ने तथा खारेज गर्ने खालका छन् । साहुलाई कम लगानीमा धेरै फाइदा भए पुग्यो, नियामक निकायलाई पैसाका मुठा पाए पुग्यो अनि कसले वास्ता गर्ने मान्छेको जीवन?
व्यापार गर तर नयाँ जहाज ल्याऊ । नयाँ/पुराना सबैलाई उडानपूर्व प्राविधिक परीक्षण गर । परिक्षणको डिटेल रिपोर्ट डिस्प्लेमा राख । एयरपोर्ट तथा टावरको कनेक्सन कन्फ्युज नहुने बनाऊ । हाम्रो भौगोलिक अवस्था अनुसार पाइलटलाई समयसमयमा तालिम देऊ अनि एयरपोर्ट वरिपरी सुरक्षित संरचना बनाऊ । बजेट सक्न, कमिसन खान जहाँ पायो त्यही एयरपोर्ट नबनाऊ । सेफ्टी फर्स्टको नीति अबलम्बन गर ।
दुर्घटना भएमा १ मिनेटभित्र दमकललगायत रेस्क्यु टिम तथा सामग्री पुग्ने तयारी गर । दुर्घटनास्थलमा सुरक्षाकर्मी तथा प्रोफेसनल उद्धारकर्मीबाहेक अरूलाई प्रतिबन्ध लगाऊ । जोखिम भवन, डाँडा भत्काऊ । थिलिथिलो भएको अर्थतन्त्रलाई थप प्रहार गर्न बिदा दिने उपहास नदोहोर्याऊ । सक्छौँ भने थोत्रा विमानलाई बिदा देऊ । सबैभन्दा सुरक्षित मानिने आकासको यात्राको यो हालत छ भने बसयात्राको हालत के होला? डा. अधिकारीको यो सामग्री उनको फेसबुकबाट लिइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0