गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्ने बताएका छन् ।
म्याग्दीको बेनीमा आज सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमिकता दिएको बताए ।
प्रकृति र संस्कृतिसँग सम्बन्ध कायम गरेर आर्थिक गतिविधिलाई अघि बढाउन मेला महोत्सव सहयोगी हुने बताउँदै मुख्यमन्त्री अधिकारीले धैर्य र साहसतापूर्वक असहज अवस्थाको सामना गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
‘उद्योगी व्यवसायीलाई अहिले गाह्रो परेको सरकारले महसुस गरेको छ,’ अधिकारीले भने, ‘धैर्य गर्नुहोस्, उद्योग व्यवसाय बन्द नगर्नुहोस् । सरकार साथमा छ । साहस बटुलेर परिस्थितिको सामना गर्नुहोस् ।’
संघीय संसद्ले आवश्यक छिटो ऐन, कानुन बनाएर प्रदेश र स्थानीय तहलाई काम गर्न सहज हुने वातावरण बनाइदिने मुख्यमन्त्री अधिकारीले अपेक्षा गरे ।
उत्पादन वृद्धि र आत्मनिर्भरतामा सरकारको जोड रहेको बताउँदै उनले म्याग्दीमा बन्द रहेका स्लेट, तामा र खरिढुंगा खानी सञ्चालनका लागि आवश्यक ऐन, कानुन बनाउने प्रतिबद्धता जनाए ।
बेनी अस्पतालको निर्माणाधीन ५० शय्या क्षमताको भवन निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलाई जतिसक्दो छिटो काम सक्न निर्देशन दिँदै अधिकारीले बेनी बजार संरक्षण, बेनीको खुलामञ्च खेलमैदान निर्माणलगायतका योजनामा प्रदेश सरकारले साथ दिने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0