गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार ९ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिए ।
गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कुल १२ लाख १६ हजार ६ सय ४२ रुपैयाँ २५ पैसामा सामूहिक दुर्घटना बीमा गरेको हो । बीमा सम्झौताअनुसार सामूहिक दुर्घटना बीमाका लागि विशेष छुटमा ७१ रुपैयाँ ६२ पैसा र टिकटवापत प्रतिबीमा पोलिसी २० रुपैयाँ लागत परेको अध्यक्ष बन्जराले बताए ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरेको उनले बताए । ‘राष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिकाबीच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ,’ अध्यक्ष बन्जराले भने, ‘सम्झौतासँगै बीमा कार्यक्रम पनि लागू भएको छ ।’
गाउँपालिकाले गरेको सम्झौताअनुसार अब पालिकाभित्रका नागरिकको कुनै पनि प्रकारको दुर्घटना भएमा कम्पनीले बीमा पोलिसीअनुसारको उपचार खर्च प्राप्त गर्ने उनको भनाइ छ ।
त्यस्तै, नेपालभर भीमसेन थापा गाउँपालिका स्थायी घर भएका कसैको कुनै पनि प्रकारको दुर्घटनाबाट ज्यान गुमाएमा समेत बीमा कम्पनीले सम्बन्धित परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने गरी बीमा पोलिसी लागू भएको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिए ।
बीमा कम्पनी र गाउँपालिकाबीच भएको सम्झौता आगामी १५ जेठ २०८१ सम्म लागू हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।
सम्झौताअनुसार गाउँपालिकावासी सबै नागरिकले अब दुर्घटनाबाट सिर्जित मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अङ्गभङ्ग, औषधोपचार आदि सुविधा प्राप्त गर्नेछन् । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0