नवनियुक्त मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा सरकार संवेदनशील रहेको बताए ।
गुणस्तरीय सेवा प्रवाहका लागि दीर्घकालीन नीतिगत तथा योजना बनाउने काम भइरहेको मुख्यसचिव डा. अर्यालको भनाइ छ । नागरिकले पाउने सेवालाई सुधार गरी गुणस्तरीय बनाउने विषय सरकारको सफलतासँग पनि जोडिएको उनले बताए ।
मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै मुख्यसचिव अर्यालले अन्तर्राष्ट्रिय लगानीका लागि पनि पहल भइरहेको जानकारी दिए ।
भेटका क्रममा चेम्बरले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउनका लागि समयवद्ध तालिका बनाएर सार्वजनिक निकायमा कडाइका साथ कार्यान्वयन गर्न सुझाव दिएको थियो ।
अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिइएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।
‘समयवद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ । कर तिर्न जाँदासमेत घन्टौं लाइन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यकता छ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0