काठमाडौं– संस्कृति, नागरिक उड्ड्यन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएपछि प्रधानमन्त्री ओलीले यो समयमा मन्त्रिपरिषद्मा हेरफेर ल्याउने आफ्नो योजनालाई केही पर सारेका छन् । अब उनी मन्त्रिपरिषद्मा नयाँ अनुहार लगानी सम्मेलनपछि ल्याउने तयारीमा छन् ।
सरकारले दातृ निकायहरुलाई बोलाएर चैतको दोस्रो साता लगानी सम्मेलन गर्दै छ । यसअघि संसदमा प्रस्तुत गरिएका विधेयक पारित भएपछि मन्त्रिपरिषद् हेरफेर गर्ने सहमति नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भइसकेको थियो ।
‘तर, समय अनुकूल रहेन,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘यसलाई लगानी सम्मेलनपछि गर्ने एउटा सम्झौता भइसकेको छ । सम्मेलन अगाडि गर्दा अहिले अनेक विवाद निस्कन सक्ने भन्दै त्यस्तो तयारी गरिएको हो ।’ लगानी सम्मेलन चैत १५ र १६ गते हुँदैछ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार हेरफेर हुने मन्त्रीको सुचीमा अर्थमन्त्री युवराज खतिवडा रहेको र तत्काल उनी फेरिँदा लगानी सम्मेलन प्रभावित हुनसक्ने भन्दै ओली र प्रचण्डले त्यसपछि मन्त्रिपरिषद् फेर्ने सल्लाह गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको कुराकानीलाई उद्धृत गर्दै ती अधिकारीले भने, ‘अब काम देखाउने समय आइसकेको छ, तर हाम्रा मन्त्रीले कुनै काम नै गरेका छैनन् । त्यसैले यो काम छिटो टुङ्ग्याउने तयारी सुरु गर्नु पर्छ ।’
यसअघि सरकार बनेको ६ महिना पनि नहुँदै मन्त्रिपरिषद् हेरफेर गर्ने कि भन्ने कुरा चलेको थियो । तर, आफूले बनाएको मन्त्रिपरिषद् त्यति छिटो फेर्दा आफूमाथिको विश्वास नै धरापमा पर्ने निष्कर्षमा केपी शर्मा ओली पुगेका थिए ।
यसपटकका लागि अर्थमन्त्रीबाट युवराज खतिवडालाई हटाउने निष्कर्षमा केपी शर्मा ओली पुगेको स्रोतको दाबी छ । ‘सुरेन्द्र पाण्डेलाई अबको अर्थमन्त्रीका रुपमा लिन सकिन्छ,’ उनले भने, ‘यस विषयमा केपी ओली र खतिवडाको कुरा पनि भइसकेको छ ।’
तर, आफूलाई यस विषयमा केही पनि थाहा नभएको बताउँछन् नेपाल कम्युनिस्ट पार्टीका नेता सुरेन्द्र पाण्डे ।
तपाईं अर्थमन्त्री बन्दै हुनुहुन्छ रे भन्ने सुनियो भन्ने प्रश्न गर्दा उनले भने, ‘मलाई त थाहा छैन ।’ यस विषयमा थप प्रतिक्रिया दिन उनले चाहेनन् ।
उता, स्रोतका अनुसार सुरेन्द्र पाण्डेसँग केपी ओलीले यस विषयमा छलफल गरिसकेका छन् । पाण्डेले पनि जिम्मेवारी दिने भए आफू लिन तयार भएको बताएका थिए ।
अर्थमन्त्रीमा डा. युवराज खतिवडा नियुक्त भएपछि पाण्डेले आलोचना गर्दै आएका थिए । खतिवडाले बजेट ल्याएलगत्तै फरक धारलाई दिएको प्रतिक्रियामा पाण्डेले भनेका थिए, ‘अर्थमन्त्री विज्ञ छन् भनियो तर यो बजेटमा त्यो विज्ञता देख्न सकिएन । अब म धेरै बोलौँ भने पनि नहुने, बोलौँ भने पनि नहुने ।’ त्यति बेला देखि नै पाण्डेले खतिवडाका नीति तथा कार्यक्रममाथि प्रश्न उठाउँदै आएका थिए ।
अर्कोतिर, खतिवडा आएपछि नेपाली अर्थतन्त्रका विभिन्न सूचकमा सकारात्मक ग्रोथ देखिएको छैन । खस्कँदो सेयर बजार, घट्दो राजश्व संकलन, व्यापारीको आक्रोश तथा बैंकहरुलाई समेत नियन्त्रणमा राख्न नसकेकाले युवराज खतिवडाप्रति ओलीले विश्वास गुमाएको हुनसक्ने स्रोतको अनुमान छ । ‘तर, यस्तो विषयमा कुरा हुँदैन,’ ती अधिकारीले भने, ‘अर्थमन्त्री मात्रै होइनन्, अरु केही मन्त्रीहरु पनि फेरिन्छन् होला । तर, कोको भन्नेबारे अहिलेसम्म निष्कर्षमा कोही पनि पुगेको छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0