रक्षा सचिव किरणराज शर्मा नेतृत्वको टोलीले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ नेपाली सेनाका युनिटहरूको अपरेसनल तथा बन्दोबस्ती पक्षहरूको निरीक्षण भ्रमण गरेको छ ।
सचिव शर्माको नेतृत्वमा यही १८ गते छ सदस्यीय टोली कंगो प्रस्थान गरेको थियो । भ्रमणदलले उक्त मिसनको महासचिवका उपविशेष प्रतिनिधि खासिम डाइग्ने तथा अन्य अधिकारीसँग भेटघाट गरेको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भेटघाटका दौरान त्यहाँको मिसनका अधिकारीहरूले नेपाली शान्ति सैनिकले मिसनको म्यान्डेडअनुरुप प्रदर्शन गरेको व्यावसायिकता तथा योगदानको उच्च प्रशंसा गरका थिए ।
सोही क्रममा रक्षा सचिव शर्माले भविष्यमा समेत नेपालले विश्व शान्ति कार्यमा योगदान पुर्याउने कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने नेपाल सरकारको नीतिबारे जानकारी गराउँदै शान्ति स्थापनार्थ तैनाथ फौजका विविध कठिनाइका विषयमा संयुक्त राष्ट्रसंघको तर्फबाट हुनुपर्ने पहलका बारे ध्यानाकर्षण गराएका थिए ।
हाल उक्त मिसनमा नेपाली सेनाका तीनवटा छुट्टाछुट्टै युनिट तैनाथ रहेका छन् भने स्टाफ अधिकृत तथा सैनिक पर्यवेक्षकसहित कुल एक हजार एक सय ५४ जना नेपाली शान्ति सैनिक तैनाथ छन् ।
भ्रमणदलमा रक्षा सचिवसँगै उपरथी प्रेमध्वज अधिकारीलगायत रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू संलग्न छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0