फिफा महिला विश्वकप फुटबलको पहिलो सेमिफाइनल मंगलबार हुँदै छ । पहिलो सेमिफाइनलमा स्वीडेन र स्पेनले प्रतिस्पर्धा गर्दैछन् ।
स्वीडेन २००३ को उपविजेता टोली हो । ऊ गत संस्करणमा तेस्रो भएको थियो । स्पेनले भने पहिलोपटक सेमिफाइनल खेलिरहेको हो । स्वीडेन र स्पेनबीचको खेल अस्ट्रेलियाको इडेन पार्कमा दिउँसो पौने २ बजे सुरु हुनेछ ।
क्वार्टरफाइनलमा पूर्वविजेता जापानलाई २–१ गोलले हराउँदै स्वीडेनले सेमिफाइनलको यात्रा तय गरेको थियो । उच्च लयमा रहेको स्वीडेन आज स्पेनलाई हराउँदै फाइनलको टिकट काट्न चाहन्छ । यही विश्वकपमा चारपटकको विश्वकप विजेता अमेरिकालाई हराउँदै स्वीडेन उपाधि दाबेदारको रूपमा प्रस्तुत भएको छ ।
यस्तै, एसियाली पावरहाउस जापानलाई क्वार्टरफाइनलमा हराउँदै स्वीडेनले लय कायमै राख्यो । जारी विश्वकपमा स्वीडेन अपराजित छ । समूह चरणमा उसले इटालीलाई ५–०, अर्जेन्टिनालाई २–० तथा दक्षिण कोरियालाई २–१ ले हराएको थियो ।
हाल स्वीडेन फिफा वरियताको तेस्रो स्थानमा छ । यस्तै, स्वीडेनलाई स्तब्ध पार्दै फाइनलमा नजर लगाएको स्पेनले पनि जारी विश्वकपमा राम्रो प्रदर्शन गरेको छ । उसले अन्तिम चारमा स्थान बनाउन साबिक उपविजेता नेदरल्यान्ड्सलाई २–१ हराएको थियो ।
तेस्रोपटक विश्वकप खेलिरहेको स्पेन स्वीडेनलाई हराउँदै आज इतिहास रच्न चाहन्छ ।
समूह चरणमा जापानविरुद्ध ४–० को हार बेहोरे पनि स्पेनले उत्कृष्ट कमब्याक गर्यो । स्पेनले स्विट्जरल्यान्डलाई ५–१, कोस्टारिकालाई ३–० र जाम्बियालाई ५–१ ले हराएको थियो ।
स्पेन हाल फिफा वरियताको छैटौँ स्थानमा छ । यस्तै, दोस्रो सेमिफाइनलमा बुधबार अस्ट्रेलियाले इंग्ल्याण्डको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0