हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्यीय पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो ।
नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको उपस्थितिमा शिक्षा समितिको केही दिनअघि बसेको बैठकले स्थानीय भाषा र तिब्बतीयन भाषाका लागि समिति गठन गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख मनराज बुढाले जानकारी दिए ।
गाउँपालिकाको आर्थिक सहयोगमा लिमी सम्भोटा र हुम्ली भोट लामा भाषामा पाठ्यक्रम लेखन तथा निर्माणको काम अगाडि बढाउने निर्णय गरिएको हो । कक्षा १ देखि ८ सम्मको स्थानीय भाषाको पाठ्यक्रम तयार गरिने समितिको सदस्यमा पाल्जोर तामाङ र कन्जोक लामा तथा मनराज बुढा सदस्य सचिव रहेका छन् । स्थानीय भाषा ऐच्छिक विषयका रूपमा रहने छ ।
शिक्षा शाखा प्रमुख बुढाले आगामी शैक्षिक सत्र २०८१/८२ देखि गाउँपालिभित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरिने बताए । स्थानीय भाषा लेखनमा पोख्त कन्जोक लामाले पेसा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिने बताए । नाम्खा गाउँपालिकाका सामुदायिक, संस्थागत र धार्मिक गरी १७ विद्यालयमा लामा भोट भाषाको पठनपाठन गराउने तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0