आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरमै अवस्थित रहे पनि आगामी तीन दिन भारी वर्षाको सम्भावना नरहेको हो ।
पानी पार्ने जलवाष्पयुक्त वायु कमजोर हुँदा केही दिन हल्कादेखि मध्यम वर्षाको मात्रै पूर्वानुमान छ । आज र भोलि आइतबारको तुलनामा मौसममा अझै सुधार देखिने मौसमविद् मानन्धरले जानकारी दिइन् ।
उनले भनिन्, ‘न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर रहे पनि पानी पार्न आवश्यक मोइस्चर कमजोर बनेकाले तत्काल भारी वर्षा र झरी पर्ने सम्भावना देखिँदैन ।’
भारतको आसामतिर बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका पूर्वी भू–भागमा सामान्यदेखि आंशिक बदली हुने उनको आकलन छ ।
सोमबार बिहान कोशी प्रदेशका अधिकांश भू–भाग, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका एक/दुई स्थानमा हावाहुरीको समेत सम्भावना छ । राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0