पश्चिम तराईमा आज तिनछठ्ठी पर्व मनाइँदै
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आज पश्चिम तराईमा विशेष पूजापाठ गर्दै तिनछठ्ठी पर्व मनाइँदैछ । व्रतालु महिलाले घाँसे कुशको पातमा गाँठो पारी पूजापाठ गर्दै छोराको दीर्घायु र स्वास्थ्य लाभको कामनासहित यो पर्व मनाइरहेका हुन् ।  

यस पर्वलाई ‘हरछठ’ वा ‘ललहीछठ’ पनि भन्ने गरिन्छ । यो पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्ष ‘षष्ठी’ तिथिका दिन मनाइने गरिन्छ । यो दिन गाउँटोलका व्रतालुहरू एकै ठाउँमा भेला जम्मा भई घाँसे कुशमा गाँठो पारी पूजा आराधना गर्ने गर्छन् ।    

हिन्दू धार्मिक परम्पराअनुसार दिनभरि निराजल व्रत बसी छोराको जीवनरक्षा तथा दीर्घायुको कामना गर्दै पलासको पात र महुवाको पातसहित कहिल्यै नजोतेको खेतमा उब्जेको तिन्नी चामल, महुवा र दही राखी पूजापाठ गर्ने गरिन्छ । यो व्रत आमाले छोराको सुस्वास्थ्य र दीर्घायुका लागि बस्ने गर्छिन् ।

व्रतालुहरू महिलाहरू दिनभरि निराजल व्रत बस्ने र तीनछठ्ठी  माताको महिमासहितका गीतहरू गाउने तथा तीनछठ्ठी मातासँग  सम्बन्धित कथाहरू भन्ने र सुन्ने गर्छन् ।  



व्रतका समयमा प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरू दही, महुवा, साग र तिन्नीको चामलको भात लगायतका सामग्री र फलफूल प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । यो व्रतमा महुवाको दातुनले दाँत सफा गरिन्छ ।   

यसै तिथिमा भगवान श्रीकृष्णका दाजु बलरामको जन्मोत्सव पनि मनाउने परम्परा रहेकाले खेतमा उब्जिएको वा हलो जोतेर उब्जाएको कुनै पनि खाद्यान्न खानु हुँदैन भन्ने मान्यता छ । हलो कृष्णका दाजु बलरामको अस्त्र भएकाले त्यसो गरिने गरेको पण्डित अजयकुमार मिश्रको भनाइ छ ।



व्रतालुहरूका लागि गाईको दूध, दही, घ्यू वा त्यसबाट बनेको कुनै पनि परिकार खान मनाही छ, पण्डित मिश्रले भने, ‘त्यसैले व्रतालु महिलाहरू यो दिन बेलुका तालतलैयामा उब्जिएको केरमुआ सागरतिन्नीको चामल र पचहरको चावल खाने गर्छिन् । यो दिन महिलाहरू भैँसीको दूध, घ्यू र दहीको प्रयोग गर्नुपर्छ ।’   

  • प्रकाशित मिति : भदौ १९, २०८० मंगलबार १३:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया