कञ्चनपुरका थारू समुदाय हर्षोल्लासपूर्वक आज अष्टिम्की (श्री कृष्ण जन्माष्टमी) पर्व मनाइरहेका छन् । सो समुदायले पृथक शैलीले अष्टम्की पर्व मनाउने गरेका छन् ।
थारू समुदायका घरमा भगवान श्रीकृष्णसहित मानव जातिको जन्मदेखि मृत्युसम्मका क्रियाकलाप दर्साउने चित्र कोरेर पूजा गरेर पर्व मनाइने गरिन्छ । सो अवसरमा घर–घरमा पूजा गर्नका लागि परापूर्वकालदेखिनै चित्र कोर्नुपर्ने चलन चल्दै आएको छ ।
थारू समुदायका घर–घरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव जातिको जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलापको चित्रको माध्यमबाट देखाउने गरिएको वडघर रामप्रसाद चौधरीले बताए ।
महिला पुरुष दुवै जनाले अष्टम्कीका अवसरमा चित्र कोर्ने गरेका छन् । विशेष गरी व्रतालु महिलालाई चित्र बनाउनमा बेफुर्सदिला बनेका छन् । ‘ब्रम्ह मूहर्तमा दर खाएपछि घरमा रहेको बह्री (बैठक) कोठमा व्रतालु थारु महिलाले आफ्नै हातले कान्हा अर्थात भगवान श्रीकृष्णको चित्रसहित अन्य लोक चित्र बनाउने कार्य गर्दै आएका छन्,’ उउनले भने, ‘महिलाले बनाउन नजानेको ठाउँमा पुरुषले गएर चित्र कोर्ने गर्छन ।’
चित्र बनाउदा पश्चिमतर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गगटा, सर्प, कुकुर, रुखमा सबेका बाँदर गड्यौला, कछुवा, हात्ती, घोडा, गोरु, उट, कुखुरा, मयुर, विच्छी, वासुकि नागलगायतका जलचर र थलचर प्रणीहरूका चित्र बनाइने गरिन्छ । चित्र बनाउनेबीच भागमा दुलही अन्माउदा दुलहीलाई लैजाने डोलेसहितको डोलीकोसमेत चित्रका माध्यमले देखाउने गरिन्छ ।
अन्न राख्ने भाँडो र दिवालमा यी चित्र बनाइने गरिएको सीताराम चौधरीले बताए । ‘पहिले महिलाले मात्रै अष्टिम्कीका बेला चित्र बनाउने गर्दथे, हाल पुरुषले समेत चित्र बनाउने गरेका छन्,’ उनले भने । सिलौटामा पिनेको चामल, धानको भुसको प्रयोग गरी डेहरीमा पोतेपछि परम्परागत तरिकाले बाँसको सिन्कामा कपास लगाई रङ्गमा डुवाइचित्र बनाइने गरिने भए पनि हाल बजारमा पाइने रङ्गमा कुचिको प्रयोग गरी चित्र बनाइने गरिएको उनको भनाइ रहेको छ ।
सृष्टिको रचना,देखि मानव जातीलाई बाँच्नका लागि आवश्यक पर्ने वस्तुबारे चित्रका माध्यमले व्यक्त गरिने भएकाले थारू समुदायको लोक चित्रकलाको निकै महत्व रहेको छ । थारू समुदाय प्रकृति पुजारीका रुपमा रहेकाले पाँच हजार वर्ष अघिदेखि चित्र बनाउने कलाको सुरुवात भएको धनबहादुर कुश्मी बताउँछन् ।
उनका अनुसार थारू समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ बनाउने गर्दथे । उनका अनुसार चित्रमा लगाइने रङगकोसमेत आ–आफ्नै महत्व रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0