मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित भएका ढाकाकुमार श्रेष्ठले आफूसँग रवि लामिछानेनिकट व्यक्तिले तीन करोड मागेको दाबी गरेका छन् ।
सोमबार साँझ एक टेलिभिजन अन्तवार्तामा उनले रविको कोर टिमको खुलासा गरेका हुन् । मन्त्री बनाउन भन्दै आफूसँग पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत तीन करोड मागिएको उनले दाबी गरे । श्रेष्ठले अन्तरवार्तामा भनेका छन्, ‘रास्वपा सरकारमा सहभागी हुने क्रममा तपाईं मन्त्री बन्दै हुनुहुन्छ तीन करोड तयार पार्नुहोस् भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले डिल गरेका थिए ।’
मोहनजंगहितको टिमले तीन करोड डिल गरेको भन्दै श्रेष्ठले थपे, ‘उहाँहरूले खुलस्त भन्नुभएको हो, तपाईं दौरा सुरुवाल लगाएर रेडी हुनुहोस्, आफन्तहरुलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ लिनेवाला छ । ढुक्क हुनुहोस् मन्त्री बन्नुभयो तपाईं । तर, त्यसका लागि हामीलाई तीन करोड चाहिन्छ । पार्टीलाई सहयोग गर्नुपर्छ भनेर मलाई माग्नु भयो ।’
मन्त्रिपरिषद् विस्तार नहुँदासम्म थापाको टिमले बारम्बार तीन करोड रकम मागेको भन्दै उक्त संवादको रेकर्ड दूरसञ्चारबाट निकाल्न सकिने समेत श्रेष्ठले बताएका छन् । त्यति मात्र नभएर मन्त्रीका लागि भएको डिलको म्यासेजसमेत आफूसँग सुरक्षित रहेको उनले दाबी गरेका छन् ।
थापा पार्टी सभापति रवि लामिछानेकै घरमा बस्ने गरेको र ‘तीन करोड दिए लामिछानेकी पत्नी निकिता पौडेलसँग मन्त्रीका लागि लबिइङ गरिदिने’ आश्वासन दिएको उनले सुनाए । केन्द्रीय सदस्य मोहनजंग थापाले पैसाका लागि आफूलाई पटक–पटक फोन गरेको श्रेष्ठले बताए ।
यता, थापाले भने आफूले पैसा मागेको कुरा झुटो र कपोकल्पित रहेको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् ।
थापाले लेखेका छन्, 'राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठले एक टेलिभिजन अन्तर्वार्तामा मेरो नाम लिएर उनलाई मन्त्री बनाउने भन्दै पैसा मागेको झुठो, कपोल्कल्पित आरोप लगाएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म उनलाई यो आरोप प्रमाणित गर्न चुनौती दिन्छु। आफ्नो भनाइ पुष्टि हुने एउटा पनि प्रमाण देखाए पार्टीले गर्ने जुन सुकै कारवाही भोग्न पनि तयार रहेको जानकारी गराउन चाहन्छु। उनको गैरजिम्मेवार अभिव्यक्तिले पर्न गएको असरबारे कानुनी परामर्शमा छु र छिट्टै अदालत जानेछु। पार्टीको अनुशासन समिति, केन्द्रीय समिति तथा संसदीय दलमा उनले दिएको बयान र विवरण रेकर्डमै रहेको होला भन्नेसमेत स्मरण गराउन चाहन्छु। धन्यवाद।'
आफू स्वास्थ्यमन्त्री बन्न लागेकाले पार्टीलाई सहयोग गरिदिन भन्दै डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक भएको थियो । चौतर्फी आलोचनापछि डा. श्रेष्ठलाई रास्वपाले गत चैतमा कारबाही गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ अनुसार आफ्ना सांसदलाई अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्थाअनुसार गत २९ चैत्रमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले श्रेष्ठको साधारण सदस्यतादेखि सांसद पद पनि खारेज गरिदियो ।
सो अडियो टेप बाहिरिएलगत्तै श्रेष्ठले सो अडियो आफ्नो नभएको कुरा बारम्बार दोहोर्याएका थिए । उनले ‘आफू डुबे अरूलाई पनि डुबाउने’ चेतावनी पनि दिएका थिए ।
आफूविरुद्ध कारबाही भएपछि उनी अदालतको शरणमा पनि नगएका होइनन् । अदालतले पार्टीको कारबाहीलाई सदर गरेसँगै उनको पद गएको थियो । उनको स्थानमा रास्वपाले बिन्दबासिनी कंसाकारलाई ल्याइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0