सुवास नेम्वाङ : निधनको अघिल्लो दिन पनि कानुन निर्माणमै व्यस्त

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

हृदयाघातबाट निधन हुनु एक दिनअघिसम्म संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानुन निर्माणका क्रममा व्यस्त रहेका थिए । 

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’बारे गठित उपसमितिलाई सहमतिका साथ कानुनी र राजनीतिक सहमति जुटाउने सवालमा सांसद नेम्वाङले एक प्रकारले अगुवाइ गर्दै आएका थिए । 

उक्त विधेयकमा सहमति खोज्न गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको थियो । द्वन्द्वकालीन हिंसात्मक घटनामा गम्भीर अपराधका मुद्दालाई माफी मिनाह दिने या नदिनेलगायत विषयमा दलबीच मतैक्य हुन सकेको छैन ।
      
यही भदौ २४ गते आइतबार सिंहदरबारस्थित समितिकै कार्यकक्षमा उपसमितिको अनौपचारिक बैठकमा सहभागी भई नेम्वाङले विधेयकका कानुनी पक्षमा आएका संशोधन र सुझावलाई समेटेर प्रतिवेदन बनाउन आफ्नो सुझाव दिएका थिए । त्यसको अघिल्लो दिन उनी एमालेनिकट राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी भई धरानबाट फर्किएका थिए । 

उक्त अनौपचारिक बैठकमा सहभागी जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झा (ठाकुर)ले त्यस दिन सुवास नेम्वाङसँग रमाइलो ढंगले कुराकानी भएको स्मरण गर्दै भनिन्,‘मैले दाइ कुन चिया खाने भनेँ । उहाँले अलि रुघा लागेको छ, चिया खाएपछि दूध हालेकै खाऊँ भन्नुभएको थियो ।’ नेम्वाङले आफूलाई उच्च रक्तचाप र चिनीरोग भएको पनि सदस्यलाई अवगत गराएका थिए । 
      
उपसमितिका सदस्यबीच यही भदौ २५ गते सोमबार पनि उक्त विषयमा छलफल गर्ने कुरा भएअनुसार सभापति विमला सुवेदीसहित सदस्य उपस्थित भइसकेका थिए । सुवास नेम्वाङ नआइपुगेपछि सभापति सुवेदीले फोन गर्दा नेम्वाङले बिरामी भएर घरमा आराम गरिरहेको जवाफ दिँदा झाले ‘सुनाइमा गल्ती भयो होला, हिजो मात्रै यहीँ भेटेको बिरामी होइन होला, विराटनगरबाट अस्ति फर्किएको भन्नुभएको होला’ भनेर सम्झाएको उनले सुनाइन् । जसपामा आउनुअघि नेम्वाङकै पार्टी एमालेबाट सांसद भई विगतमा प्रतिनिधिसभाको शिक्षा समितिको सभापति रहेकी झाले यही भदौ २६ गते मंगलबार बिहानै नेम्वाङको निधन भएको खबर सुन्दा आफू निकै दुःखी र आश्चर्यमा परेको बताइन् ।
     
उक्त विधेयक गत फागुन २५ गते संघीय संसद्मा दर्ता भएको थियो । समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानको नेतृत्वमा विधेयकबारे प्रतिवेदन तयार गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ । 



समितिका समितिका सदस्य सचिव अधिराज राईका अनुसार भदौ २४ गतेको अनौपचारिक बैठकमा नेम्वाङले उपसमितिका सदस्यलाई एक प्रकारले मार्गदर्शन दिई प्रतिवेदन तयारीको गृहकार्यमा केही सदस्यलाई अलि समय दिन आग्रह गरेका थिए । नेम्वाङले विधेयकलाई सहमतिका आधारमा टुंगोमा लानुपर्ने र आफू त्यसका लागि तत्पर रहने स्पष्ट गरेको राईले जनाए । 
      
अनौपचारिक बैठकमा उपसमिति संयोजक प्रधान, एमालेका महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार, जसपाका झा, जनमत पार्टीका गोमालाभ सापकोटा सहभागी थिए । 

बिपी साहित्य महोत्सव सञ्चालन भइरहेका कारण नेपाली कांग्रेसका रमेश लेखक भने भदौ २४ गतेको बैठकमा उपस्थित थिएनन् ।



  • प्रकाशित मिति : भदौ २७, २०८० बुधबार १८:४०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया