प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा भेटवार्ता भएको हो । 

प्रधानमन्त्री दाहालले गुटेरससँगको भेट भएकोमा खुसी व्यक्त गरेका छन् । उनले गुटेरेससँग नेपालको शान्ति प्रक्रिया, शान्ति सेना, जलवायु परिवर्तन, दीगो विकासका लक्ष्यहरू लगायतका विषयमा छलफल भएको जानकारी दिएका छन् । 

नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ गर्न दुई जना सहमत भएको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आइतबार अमेरिका पुगेका थिए । 

प्रधानमन्त्री दाहालले आगामी ४ असोजमा महासभालाई सम्बोधन गर्ने  कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्नेछन् ।



प्रधानमन्त्री दाहाल भोलि (मंगलबार), राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्यूयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी  शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ ।  

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र, सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।  



  • प्रकाशित मिति : असोज १, २०८० साेमबार ६:५०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया