नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौं क्षेत्र नं ७ का सभापति एवं काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।
स्व. रिजालको १३औँ दिनको पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जलीसभामा उनले स्व. रिजालले वडाध्यक्षका रुपमा राम्रो काम गरेको र ती कामको सधैँ स्मरण रहिरहने उल्लेख गरे ।
सभापति देउवाले विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित जुझारु नेताका रुपमा परिचित स्व. रिजालको वडाध्यक्षका रुपमा काम गर्दागर्दै असामयिक निधन भएको बताए । सभापति देउवाले स्व. रिजालले गर्न बाँकी रहेका काम कांग्रेस र सबै मिलेर पूरा गर्नुपर्ने उल्लेख गरे ।
रिजालका परिवारजनलाई पार्टीका तर्फबाट आवश्यक साथ र सहयोग रहने बताउँदै सभापति देउवाले परिवारजनमा समवेदना प्रकट गरे । सभामा सहभागी कांग्रेसका नेताहरूले स्व. रिजाललाई स्मरण गर्दै उनका अपूरा काम सम्पन्न गर्नसके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरे ।
वडाध्यक्ष रिजालको उपचारका क्रममा गत भदौ २१ गते निधन भएको हो । विसं २०२७ कात्तिकमा जन्मिएका रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा रहेका थिए । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका स्व. रिजालले मानव अधिकारवादी संघसंस्थामा समेत आबद्ध भएर कार्य गर्दै आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0