सञ्चारमन्त्री शर्मासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यानबीच शिष्टाचार भेटवार्ता भएको छ । 

मन्त्री शर्मासँग नेपाल भ्रमणमा रहेको सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख यान नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको हो । 

भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कनेक्टिभिटीका क्षेत्रमा महत्त्वपूर्ण निर्णय हुने विश्वास व्यक्त गरिन् । 

उनले भृकुटी र अरनिकोदेखि सुरु भएको नेपाल–चीन सम्बन्ध असल छिमेकी र विश्वासिला सहयोगी राष्ट्रका रूपमा विकास हुँदै गएको पनि बताइन् । राज्यस्तर र जनस्तर दुवै क्षेत्रमा नेपाल र चीनबीचको सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै मन्त्री शर्माले बेलाबेलामा हुने उच्चस्तरीय भ्रमणबाट सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गरिन् ।  
    
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध थप उचाइमा उठेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको चीन भ्रमणपछि आपसी सहयोग आदानप्रदान अझ बढेर जाने विश्वास व्यक्त गरिन् ।  



चीनले सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिइरहेको उल्लेख गर्दै उनले चिनियाँ कम्पनीले पनि नेपालको सूचना प्रविधिको विकासमा राम्रै भूमिका निर्वाह गरिरहेको समेत बताइन् । 

सूचना प्रविधिका जनशक्ति उत्पादन, साइबर सुरक्षलगायतका सवालमा दुई देशबीच सहायता आदानप्रदान बढाउनुपर्ने मन्त्री शर्माले बताइन् । मिडिया र कनेक्टिभिटीको क्षेत्रमा युनान प्रान्तसँग पनि सहयोग आदानप्रदान गर्न सकिने उनले बताइन् । 
    
नेपालको मिडिया क्षेत्रको अवस्थाबारे चिनियाँ प्रतिनिधिमण्डलको जिज्ञासामा मन्त्री शर्माले आफूहरूले प्रेस स्वतन्त्रतालाई केन्द्रमा राखेर मिडिया प्रवर्द्धनको काम गरिरहेको बताइन् । अहिले केही पुराना कानुनको संशोधन र नयाँ कानुन निर्माणका लागि मस्यौदा गरिरहेको उल्लेख गर्दै उनले त्यसमा प्रेस स्वतन्त्रता, मिडियाको सबलीकरण र पत्रकारको भौतिक तथा पेसागत सुरक्षालाई ध्यान दिइएको बताइन् । 



सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख यानले नेपाल र चीनबीचको लामो सम्बन्ध रहेको उल्लेख गर्दै युनान प्रान्त र नेपालबीच भूगोल, वातावरण र बहुजातीय संस्कृतिमा समानता रहेको बताए । आफ्नो प्रान्तमा पर्यटनको राम्रो विकास भएको उल्लेख गर्दै उनले नेपालमा पनि पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण सम्भावना रहेको बताए । 

जनस्तरको सम्बन्ध विस्तार गर्दै एक आपसको सूचना आदानप्रदान सहज गराउनसके विकासमा योगदान पुग्ने उनले बताए । प्रचार विकासको राम्रो माध्यम भएको औँल्याउँदै यानले मिडिया क्षेत्रसँग सम्बन्धित सहयोग आदानप्रदानमा आफूहरू इच्छुक रहेको बताए । 

युनान चीनको दक्षिण एशियाली केन्द्र भएकाले यही प्रान्तमार्फत विश्वव्यापी रूपमा सांस्कृतिक आदानप्रदान गर्न सकिने पनि उनले बताए । भेटमा दुवैपक्षका अधिकारीहरूको सहभागिता थियो ।

  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार २१:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया