हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन/चट्याङ हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पछिल्लो तीन घण्टा यता विशेष गरी कोशी प्रदेशको इलाम, झापा, मोरङ र सुनसरी तथा गण्डकी प्रदेशको म्याग्दी आसपास क्षेत्र र लुम्बिनी प्रदेशको बर्दिया क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
काठमाडौंमा अपरान्हपछि मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको र अहिले काठमाडौंको वायुको तापक्रम २३ डिग्री सेन्डीग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको मौसमविद् झाले बताए ।
आज काठमाडौंमा अधिकत तापक्रम २९ देखि ३१ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0