कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकको माग पूरा गर्दा राज्यलाई अर्बौं भार पर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठकमा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
शिक्षकहरूले पेन्सन पाउन स्थायी शिक्षणको अवधि नपुगेमा १० वर्षसम्म अस्थायी शिक्षण अवधि गणना गर्नुपर्ने माग राखेका छन् । साे माग पूरा गर्दा अर्बौं भार पर्ने बताउँदै खड्काले अस्थायी शिक्षणको अवधि सात वर्षभन्दा बढी गणना गरेर पेन्सन दिन नसकिने बताए ।
स्थायी भएको अवधिले पेन्सनमा जान पुगेन भने सात वर्ष अस्थायीको अवधि थपेर पेन्सन दिने व्यवस्था विधेयकमा गरिएको छ । राज्यलाई आर्थिक भार पर्ने र संविधान विपरीत हुनेबाहेक शिक्षकका सबै माग पूरा गर्न सरकार तयार रहेको उनले बताए ।
शिक्षकको मागका विषयमा शिक्षा मन्त्रालयका सचिवलाई वार्ता गर्न निर्देशन दिए पनि शिक्षकहरुले वार्ता गर्न नमानेको बताए । शिक्षकको मागको विषयमा आफूले शिक्षामन्त्री, कानुनमन्त्री र ती मन्त्रालयका सचिवहरु राखेर छलफल गरेको पनि खड्काले कांग्रेस बैठकमा बताए ।
शिक्षामन्त्री अशोक राईलाई शिक्षक महासंघसँग वार्ता गर्ने जिम्मेवारी दिएपछि पुनः अर्को अड्को थापेको खड्काले सुनाए । अहिले शिक्षकहरुले वार्तामा प्रधानमन्त्री नै चाहिने अड्का थापेको उनको भनाइ छ ।
शिक्षक महासंघले अहिले राखेका कतिपय कुराहरु नियमावलीमा उल्लेख गरेर सम्बोधन गर्न सकिने पनि खड्काले बताए । कांग्रेसको शिक्षक संघकै प्रतिनिधि पनि आफूले बोलाउँदा छलफल गर्न नआएको खड्काकाे गुनासाे थियाे ।
कांग्रेसकाे शुभेच्छुक संस्था शिक्षक संघका अध्यक्षले आफूलाई भेट्छु भनेको सात दिन भएकाे तर अहिलेसम्म सम्पर्क नगरेकाे उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0