नेपाल फर्म व्यवसायी संघ र नेपाल गाँजा वैधानिक महाअभियान गाँजाको वैधता माग गर्दै आन्दोलनमा उत्रिएको छ । आइतबार काठमाडौंको माइतीघरमा उनीहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा सहभागीहरूले ‘गाँजा तत्काल वैध गर सरकार’, ‘घरघरमा रोजगार गाँजा नेपालको प्रथम व्यापार’, र ‘जनता होइन नेपालको जडीबुटीलाई बेच सरकार’ लगायतका ‘प्ले कार्ड’ प्रदर्शन गरेका थिए ।
सर्वोच्च अदालतमा गाँजालाई वैधानिकता दिन माग गर्दै दायर भएको मुद्दाको सुनुवाइ बारम्बार सरेपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको संघका केन्द्रीय अध्यक्ष रिगेन्द्र गिरीले बताए ।
उनले भने, ‘गाँजा वैधानिक हुनुपर्छ भनेर हामीले सर्वोच्चमा मुद्दा दायर गरेका थियौँ । त्यो मुद्दाको सुनुवाइ बारम्बार सरेपछि हामी सडक आन्दोलन आएको छौँ ।’
अध्यक्ष गिरीले गाँजा चरेस विभिन्न रोगको उपचार गर्न प्रयोग हुने भएकाले औषधी उपचारको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘चरेस भनेपछि मानिस नै डराउने अवस्था छ, तर सबैभन्दा ठूलो औषधी यही हो । गाँजाको डाँठबाट घर बनाउन सकिन्छ, जुन ३/४ वर्ष टिक्छ । गाँजा व्यवसाय वैध गर्नुपर्छ, यो सबै औषधी उपचारको लागि प्रयोग गर्न पाउनुपर्छ भनेर आन्दोलनमा छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0