चीनमा जारी १९औँ एसियाली खेलकुदको क्रिकेटतर्फ नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो विश्वकीर्तिमानी जित हो ।
यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । उसले सन् २०१९ मा टर्कीलाई २५७ रनले हराएको थियो । पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको मंगोलियाले भने सम्झनलायक प्रदर्शन गर्न सकेन । नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।
उसका लागि दावासुरेन जमियांसुरेनले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि करण केसी, सन्दीप लामिछाने, अविनाश बोहराले दुई/दुई, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सोमपाल कामीले एक/एक विकेट लिए ।
त्यसअघि हांग्जाउमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो । योसँगै नेपालले टी–२० मा सर्वाधिक ठूलो लक्ष्य दिने विश्वकीर्तिमान बनाएको छ ।
यसअघि यो रेकर्ड अफगानिस्तानको नाममा थियो । उसले सन् २०१९ मा आयरल्याण्डविरुद्ध २७८ रन बनाएको थियो । अब अफगानिस्तानको रेकर्ड नेपालले तोडेको छ ।
नेपालका लागि युवा अलराउन्डर कुशल मल्लले विश्वकीर्तिमानी शतकीय इनिङ खेले । ५० बलको सामना गरेका उनले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १३७ रन बनाए । कुशलले ३४ बलमै शतक बनाएका थिए ।
योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने ब्याटर बनेका छन् । यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिका सुदेश विक्रमशेखरको नाममा थियो । यी तीनै ब्याटरले ३५ बलमा शतक बनाएका थिए ।
अब उनीहरूको रेकर्ड कुशलले तोडेका छन् । यस्तै, कप्तान रोहित पौडेलले २७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ६१ रनको इनिङ खेले । दीपेन्द्र सिंह ऐरीले १० बलमा ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाए ।
योसँगै दीपेन्द्र टी–२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने ब्याटर बने । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।
यस्तै, मंगोलियाविरुद्ध ओपनरद्वय कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे । मंगोलियाका लागि मुनगुन अल्तानखुयागसहित तीन बलरले एक/एक विकेट लिए ।
समूह चरणअन्तर्गत नेपालले दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्ने तालिका छ । एसियन गेम्समा हालसम्म दुईपटक क्रिकेट प्रतिस्पर्धा भएको छ ।
दुवैपटक प्रतियोगितामा भाग लिएको नेपालले क्वार्टरफाइनलसम्मको यात्रा मात्र गरेको छ । नेपाल सन् २०१० को क्वार्टरफाइनलमा श्रीलंका तथा २०१४ को एसियन गेम्स क्वाटरफाइनलमा अफगानिस्तानविरुद्ध पराजित भएको थियो ।
यसपटक पनि समूह चरणमा कमजोर टिमसँग प्रतिस्पर्धा गरिरहेकाले नेपालको क्वार्टरफाइनल यात्रा पक्काजस्तै छ ।
समूह विजेता बनेमा नेपालले अन्तिम चारमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामध्ये एक टिमको सामना गर्नेछ । हालै एसिया कप खेलेको नेपालले यसपटक एसियन गेम्समा पदक जित्ने लक्ष्य लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0