समयमै उपचार गरे निको हुन्छ बालक्यान्सर : डा. शर्मा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बालबालिकामा हुने क्यान्सर समयमा उपचार गरे निको हुने चिकित्सकको भनाइ छ । पछिल्ला वर्षमा नेपालमा भित्रिएका प्रविधि र औषधिका कारण बाल क्यान्सरको उपचार सम्भव भएको हो ।
 
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका युवा तथा बालक्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर शर्माले बाल क्यान्सर जति खर्च गरे पनि उपचार निको हुँदैन, रोग निको भयो भने पनि रोग बल्झन्छ भन्ने भ्रम जनमानसमा रहेको बताए । उनले भने, 'यो सत्य होइन । अहिलेको अवस्थामा बालबालिकाको क्यान्सर निको हुने दर राम्रो छ । उपचार गर्न सक्छौँ ।'
 
ठूला मानिसको तुलनामा दुई कारणले बालबालिकाको क्यान्सर छिटो निको हुने उनी बताउँछन् । उनको भनाइमा बालबालिकालाई हाइडोजको औषधि दिन सकिन्छ । यसैगरी केमोथेरापी दिँदा ठूलाको भन्दा बच्चाले धेरै सहन सक्ने भएकाले तत्काल काम गर्छ । बालबालिकाको धेरैजसो क्यान्सरलाई नेपालमै रोग पत्ता लगाउन सकिने भन्दै उनले भने, 'अहिले नेपालमा उपचार गर्दाखेरि बालक्यान्सर निको हुने दर करिब ६० प्रतिशतभन्दा बढी देखिन्छ ।'  

विश्वका विकसित देशहरूमा जस्तै अमेरिका जापानलगायत समग्रमा कतिपय क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने दर रहेको भन्दै उनले सम्रगमा हेर्दा ८० प्रतिशत भन्दा बढी बालबालिकाको क्यान्सर निको बताए । 


 
दुई दशकपहिले नेपालमा बालक्यान्सरको उपचार सम्भव नरहेको भन्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बालक्यान्सर विभाग सुरुआत भएसँगै यो सम्भव भएको उनले बताए । 'अहिले करिब दुई दशक पछाडिको समयमा आइपुग्दा धेरै बालबालिकाको नेपालमै क्यान्सरको उपचार भएर राम्रो नतिजा आउन सक्छ भन्ने सन्देश जनमानसमा पुगिसकेको छ,' उनले भने । 

नेपालमा प्रत्येक वर्ष करिब एक हजार पाँच सय बालबालिकामा क्यान्सर रोग लाग्ने भन्दै उनले त्यसमध्ये विभिन्न अस्पतालमा आउने बालबालिकाको अनुपात करिब आठ सय रहेको जानकारी दिए । उनले भने,'अहिले पनि आधाभन्दा बढी बालबालिका अस्पतालको पहुँचमा आइनसकेको हाम्रो अनुमान छ ।' 



बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा तीन सय ५० भन्दा बढी बालबालिका प्रत्येक वर्ष क्यान्सरको उपचारका लागि आउने गर्दछन् । यसले गर्दा सरदरमा हरेक दिन एक वा दुईजना बाल क्यान्सरका नयाँ बिरामी आउने उनले जानकारी दिए । विशेष गरेर बालबालिकाको रक्त क्यान्सरको उपचार तीन वर्षसम्म लाग्ने भएकाले अहिलेको समयमा पाँच सयभन्दा बढी बालबालिका यसै अस्पतालमा उपचाररत रहेको उनको भनाइ छ ।
 
उपचारमा आउने बालबालिका पनि अस्पतालमा आउँदा रोग छिप्पिइसकेपछि ढिलो गरी आउने गरेको उनको अनुभव छ । उनले भने, 'ढिलो गरी अस्पताल आउँदा रोग फैलिसक्ने भएकाले पूर्ण रूपमा निको पार्न गाह्रो हुन्छ ।' 

क्यान्सरको तेस्रो चौथो चरणमा भएका बाल क्यान्सर पनि निको भएको उनको अनुभव छ । अझै पनि आधाभन्दा बढी बालबालिका उपचारको पहुँचमा नआएको भन्दै उपचार सम्भव छ भन्ने कुरालाई व्यापक प्रचारप्रसार गरेर उपचारमा ल्याउनुपर्ने उनले बताए । 
 
बालबालिकालाई क्यान्सर लाग्ने कारण यही नै हो भन्ने नरहेको भन्दै उनले थपे, 'विशेषगरी बालबालिकाको क्यान्सर वंशाणुगत रोग त हो नै तर जिनमा भएको खराबीले गर्दा बालबालिकालाई क्यान्सर लाग्ने गर्दछ ।' कतिपय बालबालिका जन्मजात नै क्यान्सर लिएर आउने उनी बताउँछन् । 



रक्त क्यान्सर, न्युरोप्लाष्टामा, विल्मस ट्युमर लगायतका रोगहरू बालबालिकाको पहिलो वर्षमै धेरै देखिने गर्दछन् । नसासम्बन्धी क्यान्सर, कलेजेको क्यान्सर, कतिपय ब्रेन ट्युमर र कतिपय रक्त क्यान्सर बालबालिकाको पाँच वर्षभन्दा मुनि नै देखिन्छ । पाँचदेखि १५ वर्षसम्मको बालबालिकामा लिम्फोमाहरू, ग्ल्यान्ड क्यान्सर र हड्डीलगायतको क्यान्सर बढी देखिने डा. शर्मा बताउँछन् ।
 
बालबालिका बिरामी हुँदा लक्षण हेरेर अभिभावकले कतै क्यान्सर त होइन ? भनेर पनि शंका गर्नुपर्ने डा. शर्मा बताउँछन् । उनले भने, 'विशेषगरी एकदुई हप्ताभन्दा बढी समयसम्म ज्वरो आइरहने, बालबालिकाको शरीरमा निलो डाम देखिने, रगत घट्ने, रक्तश्राव हुने, पेट फुलेर आउनेजस्ता लक्षण रक्त क्यान्सरका लक्षण हुन् ।' 
 
बालबालिकाको ‘आइक्यु’ कम हुने, मुर्छा पर्नेलगायत लक्षण छन् भने ब्रेन ट्युमर हुन सक्छ । त्यस्तै गरेर पेट, कलेजो, मिर्गौला र अण्डाशयको वरिपरि अनियन्त्रित खालको मासु छ भने त्यहाँको क्यान्सर हुनसक्ने उनी बताउँछन् ।

  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार २०:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया