नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीको कार्यकारी अधिकार आफैँ लिएका छन् । यसअघिसम्म पार्टीको कार्यकारी अधिकार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीमा थियो ।
रञ्जिताको अनुपस्थितिमा केन्द्रीय समितिको बैठकबाट संरक्षक चौधरीलाई आगामी महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीको कार्यकारी अधिकार समेत दिने निर्णय गरिएको हो । रेशमलाई पार्टी अध्यक्षकै अनुपस्थितिमा कार्यकारी अधिकार संरक्षकलाई दिने विषयले अहिले पार्टीभित्रै पनि विवाद सुरु भएको छ ।
रञ्जिता अहिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री छन् । कैलालीको टिकापुरमा १२ गते देखि सुरु भएको केन्द्रीय समिति बैठकको उद्घाटन गरेर रन्जिता काठमाडौं फर्किएकी थिइन् । उनी उपस्थित नरहेको बैठकले उनको अधिकार संरक्षकलाई दिने निर्णय गरेपछि विवाद उत्पन्न भएको हो ।
नागरिक उन्मुक्ति पार्टीले आगामी पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा पहिलो महाधिवेशन गर्न लागेको छ ।
केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको छ । बैठकको निर्णयअनुसार आर्थिक समितिमा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, प्रचार प्रसार समितिमा ठाकुरसिंह थारु, भान्सा व्यवस्थापन समितिमा रामेश्वर चौधरी, मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, सांस्कृतिक तथा झाँकी समितिमा लक्ष्मण किशोर चौधरी, अतिथि सत्कार समितिमा धर्म बहादुर चौधरी, स्वयंसेवक समितिमा इन्दिरा गिरी, स्वास्थ्य सेवा समितिमा डाक्टर सरोजसिंह चौधरी, आवास समितिमा रामलाल डंगौरा थारु, निर्वाचन समितिमा दामोदर पण्डित, राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0