कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा

स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मंसिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन गर्न लागेको जनाएको छ । 

कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलका अनुसार सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति रहनेछ । साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको पनि उपस्थिति रहने उनले जानकारी दिए । 
 
यसैगरी एसियाली विकास बैंक, विश्व खाद्य संगठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थाहरुसहित विभिन्न दातृ निकायका प्रतिनिधि सम्मेलनमा सहभागी हुने कट्टेलले बताए । उनका अनुसार शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । 

सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ । साथै जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिनेछ । 

कार्यक्रममा जापान, ताइवान, नेदरल्यान्ड र भारतका १० वैज्ञानिकसहित तीन सयभन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले जानकारी दिए । ‘विदेशी र स्वदेशी वैज्ञानिकको प्रस्तुतीकरण रहनेछ । कार्यक्रमको पहिलो दिन उद्घाटनसँगै समूहगत छलफल थालिनेछ,’ उनले भने, ‘दोस्रो दिन समूहगत छलफल र प्राविधिक विषयगत प्रस्तुति तथा छलफल गरिनेछ । अन्तिम दिन प्राविधिक तथा विषयक छलफलका साथै समापन गरिने छ ।’
 
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक, कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता रहने संयोजक कट्टेलको भनाइ थियो । 



उनका अनुसार यस प्रकारको महत्वपूर्ण सम्मेलन पहिलोपटक गर्न लागिएको हो । यसले नयाँ उपलब्धिको आदानप्रदान गर्नेछ भने अनुसन्धानलाई सहयोग पुग्नेछ ।



  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार १७:५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया