नेपाली कांग्रेसले भूकम्पपीडितका लागि एक हजार घर बनाउन इन्जिनियर र डकर्मीसहित स्वयंसेवकको २५ टोली प्रभावित क्षेत्र पठाएर श्रमदान गर्ने भएको छ ।
सोमबार धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
उनले भने, ‘जाजरकोट र रुकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय भएको छ । एउटा टोलीमा १० जनाका दरले स्वयंसेवक पठाउने निर्णय भएको छ ।’
चिसोका कारण भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो । प्रभावित क्षेत्रमा टहरा बनाउन पठाउने भनिएको प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक सहित १० जना रहने विश्वकर्माले जानकारी दिए ।
उक्त टोलीले सुत्केरी र वृद्ध वृद्धा रहेका परिवारलाई प्राथमिकतामा राखेर टहरा निर्माण कार्य अगाडि बढाउने विश्वकर्माको भनाई छ । चिसोका कारण अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0