काठमाडौं– कुनै समय टुँडिखेलमा मर्निङ वाक गरेकाहरु आजभोलि चिया टेबलमा बसे भने गफिन्छन्, ‘यो त कुनै समय दक्षिण एशियाको सबैभन्दा ठूलो परेड खेल्ने ठाउँ थियो, अहिले टुक्राटुक्रा भयो ।’
हुन पनि पहिले टुँडिखेल त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालादेखि लिएर अहिलेको रानीपोखरी रहेको ठाउँसम्म फैलिएको थियो ।
यही ठूलो टुँडिखेलको एक हिस्सामा कुनै समय चंगा उडाउन पुग्थे, विजय श्रेष्ठ ।
अहिले त उनले चंगा उडाएको ठाउँमा नेपाली सेनाले मात्र परेड खेल्छन्, टुँडिखेल खुम्चिइसकेको छ । त्यसैले उनी बाल्यकाल सम्झिन्छन्, नोस्टाल्जिक हुन्छन् अनि टुक्रा टुक्रा भएको टुँडिखेललाई सम्झिएर मनमनै सुकसुकाउँछन् ।
र, त अहिले अभियानमा जुटेका छन् उनी– अकुपाइ टुँडिखेल ।
विजयलाई बुढापाकाले भनेका छन्, ‘खासमा टुँडिखेल अतिक्रमण गरेका जंगबहादुर राणाले हुन् ।’
कसरी ?
‘ठूलो त्यो टुँडिखेल देखेर जंगबहादुर राणा लोभिएछन्, छाउनीमा गरिने सैन्य परेड उनले टुँडिखेलमा गर्न लगाएछन्,’ विजयले केही दिनअघि भने, ‘त्यसपछि टुँडिखेलमाथि अतिक्रमण सुरु भयो, अहिले त त्यति बेलाको टुँडिखेल कल्पनामा मात्र छ ।’
यही कल्पनालाई अब साकार रुप दिन विजय लागेका छन्, आलोक तुलाधर, सन्जय अधिकारी, गणपतिलाल श्रेष्ठ, दीपक तुलाधर, निलकण्ठ श्रेष्ठहरुसँग मिलेर । यी सबै आफूलाई सम्पदा प्रेमीका रुपमा चिनाउँछन् ।
त्यसैले उनीहरुले शनिबार आयोजना गरेको बृहत कार्यक्रम सम्पदा प्रेमीको कार्यक्रम हो भनेर भनिरहेका छन् । ‘यो पोलिटिकल नहोस् भन्ने हाम्रो चाहना हो,’ यो अभियानमा जोडिएका अभियन्ताहरु भन्छन् । त्यसैले उनीहरु अकुपाइ टुँडिखेलमा कुनै पनि पार्टीको झन्डा नआओस् भन्ने चाहन्छन् ।
‘टुँडिखेल हामी सबैको साझा सम्पत्ति हो,’ विजयले भने, ‘त्यसलाई फेरि हाम्रो बनाउन सबै नेपाली एक भएर अगाडि बढ्नुको विकल्प छैन ।’
टुँडिखेललाई यी अभियन्ताले काठमाडौंको फोक्सोका रुपमा लिएका छन् । ‘काठमाडौंको फोक्सो हो टुँडिखेल,’ विजयले भने, ‘यो स्वच्छ हावाको स्रोत पनि हो, यसलाई त्यसैले बचाउनु पर्छ ।’
यसका लागि विजयहरुसँग तीन भागमा वर्गाीकरण गरिएको अभियानको खाका बनिसकेको छ । पहिलो त उनीहरु खुलामन्चमा बनाइएको बसपार्क तत्काल हटाउनु पर्ने, त्यहाँ गरिएको पिच उप्काउनु पर्ने मागमा छन् । ‘यो त तत्काल बन्द गरिनुपर्छ,’ विजयले यसो भन्दा उनको आवाजको पिच निकै ठूलो थियो, ‘खुलामन्च ढलान गरिनु हुँदैन ।’
हो, यो आवाज नै विजयहरुको अभियानको पहिलो स्वर हो । उनीहरु यहाँ भइरहेको अतिक्रमण तत्काल बन्द गर्न खोजिरहेका छन् । यसका लागि उनीहरु सरकारसँग जोडदार रुपमा माग उठाइरहेका छन् ।
अनि विश्व वातावरण दिवसको अवसर पारेर शनिबार अर्थात् २३ कार्तिकमा उनीहरु विहान मानव साङ्लोका लागि निस्कँदै छन् ।
यही नै अभियानको सुरुवात हो । अब प्रत्येक साता शनिबार विहान यो अभियानलाई निरन्तरता दिने र अतिक्रमण गरिरहेकाहरुलाई खबरदारी गर्ने उनीहरुको योजना छ । ‘यो सुरुवात हो,’ विजयले भने, ‘यो सकिन वर्षौ लाग्न सक्ने अनुमान हामीले गरेका छौँ । तर, हामी थाक्दैनौँ, हामीले यसलाई एउटा बिन्दुमा पुर्याएर नै छोड्नेछौँ ।’
उनी यो आत्मविश्वासमा किन छन् भने टुँडिखेललाई उनले काठमाडौंवासीको स्थान मात्र हो भन्ने धारणा बनाएका छैनन् । ‘यो त सबै वातावरण प्रेमीको सरोकारको विषय हो,’ विजयले ढुक्कका साथ भने, ‘यो काठमाडौंको फोक्सो सबै नेपालीको हो ।’
अनि विजयले जोडे, ‘फेरि यो सरकारविरोधी अभियान पनि होइन, यसले त सरकारलाई नै सहयोग गर्नेछ ।’ अनि उनले विश्वास पनि लिएका छन्, ‘सरकारले हाम्रो काममा समर्थन गर्छ र साथ दिन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’
विजयले केही वर्ष अगाडिको घटना सम्झिन थाले । अर्थात्, विनाशकारी भूकम्प गएको वर्ष, २०७२ साल । भूकम्प गएपछि खुम्चिएकै अवस्थामा पनि टुँडिखेलले दिएको न्यानो आश्रयबारे उनले सम्झिए । त्यसलाई सम्झिँदै उनले थपे, ‘भोलि अर्को प्राकृतिक विपत्ति परेको खण्डमा यही टुँडिखेलले फेरि पनि हामीलाई संरक्षण दिने निश्चित छ ।’
यो त वातावरणसँगको कुरा भयो । टुँडिखेल बचाउन सके नेपालमा पर्यटन क्षेत्रमा पनि व्यापक योगदान पुग्ने निष्कर्ष विजयले निकालेका छन्, उनको समूहले यो निष्कर्षलाई साथ दिएका छन् ।
‘हामीले संस्कृति बचाउन सक्यौँ भने पो नेपालमा आउने विदेशी पर्यटकको संख्या बढ्छ, नत्र त यहाँ पर्यटक किन आइरहने ?’ विजयले प्रश्नगरेका छन्, ‘त्यसैले यहाँ भएका सार्वजनिक सम्पत्ति र सम्पदा, प्राकृति कुरा बचाउन सरकार लाग्नु पर्छ, शक्ति र सत्ताको आडमा सार्वजनिक ठाउँको गलत प्रयोगले झन् नराम्रो हुनसक्छ ।’
विजयलाई मनमा एउटा डर छ, केही मानिसहरुले यसलाई नेवारको काम हो पो भनिदिने हुन् कि ?
त्यसैले उनी अहिले नै यस विषयलाई प्रष्ट्याउन चाहन्छन् । ‘टुँडिखेल काठमाडौं वा नेवारको मात्र होइन, यो त सबै नेपालीको सम्पत्ति हो ।’ अनि अहिले टुँडिखेल बचाउनु अब सम्पदाको बचाव लाग्न सुरु हुने अभियान पनि हो भन्ने उनले बुझेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0