नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठन तयारी अघि बढाउन बोलाएको विपक्षी गठबन्धनको बैठक अन्तिम समयमा स्थगित भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि विपक्षी गठबन्धनको बैठक स्थगित भएको हो।
देउवा र प्रचण्डबीच मध्यान्ह १२ बजेदेखि करिब एक घण्टा लामो संवाद भएको थियो। त्यसपछि विपक्षी दलको बैठक पनि रोकिएको हो।
नयाँ सरकारलाई लिएर जनता समाजवादी पार्टीमा एकमत हुन नसकेको अवस्थामा विपक्षी गठबन्धनको बैठक रोकिएको हो। सभापति देउवाले आज दिउँसो २ बजेका लागि बूढानीलकण्ठस्थित निवासमा विपक्षी गठबन्धनको बैठक डाकेका थिए।
उनले दिउँसो २ बजेका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्ने योजना थियो। बैठकमा कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्रका नेता र जसपाको उपेन्द्र यादवसहितका नेताहरुलाई बोलाइएको थियो। देउवाले नयाँ सरकारमा निर्णायक मानिएका नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाएका थिए।
देउवाले आजै मंगलबार दिउँसो ३ बजेका लागि सभापति देउवाले पार्टीका पदाधिकारीलाई निजी निवास बूढानीलकण्ठमा डाकेका छन्। सरकारबाट केपी ओलीको बहिगर्मनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन सोमबार आह्वान गरेपछि देउवाले पार्टीमा छलफल छन्।
देउवाका सहयोगी भानु देउवाका अनुसार नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेस पदाधिकारीहरूलाई बूढानीलकण्ठ डाकिएको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0