कांग्रेसले सिंगो जसपा र माधव नेपालको सहयोगमा बहुमत पुर्‍याउने
महतले भने : अबको दुई दिनमा हामी बहुमत जुटाउँछौँ

नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समय सीमाभित्र बहुमतको सरकार बनाउने सबै कोसिस गर्ने निर्णय लिएको छ। माओ‌वादी केन्द्रको साथ पाइसकेको अवस्थामा कांग्रेसले जनता समाजवादी पार्टीमा महन्थ ठाकुरको पनि समर्थन लिन प्रयास गर्ने निर्णय गरेको पार्टीका सह-महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। 

कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले वैशाख ३० गते राति नौ बजेसम्म बहुमत जुटाएर सरकारको दाबी गर्ने निर्णय पनि लिएको छ।

'प्रधानमन्त्रीले विश्वासको मत लिँदा असफल पार्छौँ भनेका थियौँ, हामी सफल भएका छौँ। अहिले आएर राष्ट्रपतिजीले नयाँ सरकार बनाउन तीन दिनको समय दिनु भएको छ', महतले बैठकपछि भने, 'माओवादी केन्द्र, जसपा लगायतका दलहरूको सहयोगमा सरकार बनाउँछौँ। दुई वा दुई भन्दा बढी दलको सहयोगमा हामी दाबी गर्छौँ।'

कांग्रेसले सरकारका लागि आवश्यक संख्या जुटाउन पूरै शक्ति लगाउने निर्णय पनि गरेको महतले बताए। 'माओवादीको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन स्पष्ट हुनुहुन्छ', उनले भने, 'कांग्रेस र माओवादी  केन्द्र एकै ठाउँमा छन्। जसपमा अध्यक्ष उपेन्द्र यादवले पनि हिजो तीन दलको विज्ञप्तिमा सही गरिसक्नु भएको छ। यस्तोमा समग्र जसपा एकजुट भएर नयाँ सरकारको अभियानमा सामेल  होस् भन्ने चाहन्छौँ।'



महतले एमाले भित्र पनि असन्तुष्टि रहेकाले त्यहाँबाट पनि मत तान्ने कोसिस गरिने बताए। 'एमालेभित्र पनि असन्तुष्टि छ। त्यहाँ माधव नेपालहरुको मत पनि जुटाउने हाम्रो कोसिस रहनेछ', महतले भने, 'पर्सिसम्म परिस्थिति परिवर्तन हुन सक्छ। एमाले दलमा असन्तुष्टि रहेको अवस्थामा सिंगो जसपा आउने सम्भावना छ।'

उनले राष्ट्रपतिले दिएको समय सीमाभित्र कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत पुर्‍याउने दाबी गरे। 'कांग्रेसले अबको दुई दिनभित्र बहुमत जुटाएर सरकारको दाबी गर्ने छ', उनले भने, 'हामी त्यसमा पक्कै सफल हुनेछौँ।



  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १७:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया