नयाँ सरकारका लागि दाबी पेस गर्ने समयसीमा आज साँझ सकिदैछ । वैशाख २७ मा प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनको पहलकदमी सुरु भएको हो ।
ओली असफल भएपछि सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि वैशाख ३० गते बेलुकी ९ बजेभित्र आफ्नो दाबी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन् । सोहीअनुसार अहिले संसदमा एमालेपछिको दोस्रो ठूलो दल नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) को सहकार्यमा सरकार गठनको पहलकदमी लिएको छ ।
तर, बुधबार बेलुकासम्मको अवस्था हेर्ने हो भने, कांग्रेसले आफ्नो पक्षमा बहुमत पुर्याउन सकिरहेको छैन । जसका लागि जसपा र नेकपा एमालेको असन्तुष्ट पक्ष माधवकुमार नेपाल समूहसँग संवाद जारी राखेको छ ।
विपक्षी दलहरुले सरकार गठनको प्रयास जारी राख्दा कामचलाउ प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा के गर्दै होलान् ? यो पनि सबैको चासोको विषय बनेको छ । किनकि ओली चुप लागेर बस्ने खालका व्यक्ति त होइनन् ।
प्रतिनिधिसभामा विश्वासको मत लिँदा आफ्नै पार्टीका २८ जना सांसदहरु अनुपस्थित भएपछि फेल भएका ओलीले अबको दिनमा कस्तो कदम चाल्लान् ? अर्थात् उनको विकल्प के हुनसक्छ ? के उनी फेरि प्रधानमन्त्रीको रुपमा आउन सक्लान् ? यही विषयमा केन्द्रित रहेर हामीले ओलीका विकल्पहरुका बारेमा खोज्ने प्रयास गरेका छौँ ।
अहिलेको अंक गणित
प्रतिनिधिसभामा अहिले २ सय ६७ जना सांसद कायम छन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका २ र जसपाका २ जना सांसद निलम्बनमा तथा माओवादी छाडेर एमाले बनेका ४ जना सांसदको पद खारेजीमा परेकाले तत्काल २ सय ६७ संख्या कायम रहेको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् । जुन धारा अन्तर्गत दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि अहिले कायम भएको सांसद संख्याका आधारमा कम्तीमा पनि १ सय ३४ जना सांसदको समर्थन आवश्यक पर्छ ।
संसदमा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेसँग १ सय २१ जना सांसदहरु रहेका छन् । नेपाली कांग्रेसका ६१ जना सांसद रहेका छन् भने नेकपा माओवादी केन्द्रसँग ४९ जना (सभामुखबाहेक स्वतन्त्र जितेर माओवादी प्रवेश गरेका छक्क लामासहित) सांसद रहेका छन् ।
जसपा नेपालसँग ३२ जना सांसद छन् । जसमध्ये १६ जना अध्यक्ष महन्थ ठाकुर र १६ जना अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा देखिएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको १, राष्ट्रिय जनमोर्चाको १ र नेपाल मजदुर किसान पार्टीको १ सांसद प्रतिनिधिसभामा छन् ।
सोमबार ओलीले विश्वासको मत लिँदा एमालेका ९३ जना सांसदले मात्र ओलीलाई साथ दिए । बाँकी २८ जना सांसदहरु एमालेको असन्तुष्ट पक्ष माधव नेपाल पक्षलाई साथ दिँदै मतदानमा अनुपस्थित रहे । जसपाभित्र पनि दुईवटा समूहमा विभक्त हुँदा उसको राजनीतिक लाइनमाथि साझा धारणा बन्न सकेको छैन ।
पहिलो : नेपाल पक्षको राजीनामा रोक्ने
विश्वासको मतमा ओलीले ९३ जना सांसदहरुको मात्र साथ पाए । बाँकी २८ जना आफ्नै पार्टीका सांसदहरुले असहयोग गरेपछि ओली विश्वासको मतमा सफल हुन सकेनन् । सँगै, ओलीलाई साथ दिने बताउँदै आएको जसपाको महन्थ ठाकुर पक्ष पनि तटस्थ बस्यो । यसो हुँदा ओली विश्वासको मत पुर्याउन सफल भएनन् ।
प्रतिनिधिसभामा असफल भएपछि कामचलाउ बनेका ओलीले आफू सत्तामा रहिरहन एमालेको असन्तुष्ट नेपाल पक्षलाई आफ्नो पक्षमा ल्याउन सक्छन् । सोमबार अघि पनि उनले नेपाल पक्षसँग पटक–पटक सहमतिका लागि वार्ता÷संवाद गरेका थिए । तर, अन्तिम अवस्थामा कुरा नमिलेपछि नेपाल पक्षले अनुपस्थित हुने निर्णय गरेको थियो ।
अहिले पनि ओली–नेपाल समूहका नेताहरुबीच छलफल जारी छ । त्यसो त नेपाल पक्षले कांग्रेस सभापति शेर बहादुर देउवासँग पनि छलफल गर्दै आएको छ । यता आफ्नै पार्टीमा पनि नेता नेपाल र ओलीबीच कुरा मिलाउन दुवै पक्षका नेताहरु लागिपरेका छन् । स्रोतका अनुसार बुधबार बेलुकी नेपाल पक्षका केही नेताहरु ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका थिए ।
बुधबार दिउँसोसम्म ओलीले आफ्नो पार्टीभित्र असन्तुष्ट पक्षलाई सन्तुष्ट बनाएर नेपाल पक्षको राजीनामा रोक्न सकेमा ओली पुनः दोहोरिन सक्ने देखिन्छ । किनभने, ओलीले एमालेभित्रको विवाद मिलाउन सकेमा जसपाको महन्थ ठाकुर पक्षको पनि थप सहयोग मिल्ने देखिन्छ । अहिलेसम्म महन्थ पक्षका १८ जना सांसदहरुले साथ दिने देखिएको छ । यदि नेपाल पक्षको राजीनामा ओलीले रोक्न सकेमा ओली प्रधानमन्त्रीमा पुनः दोहोरिने देखिन्छ ।
तर, अहिलेसम्मको स्थिति हेर्दा नेपाल समूहका २८ जना सांसदहरुले नै राजीनामा दिने देखिँदैन । किनभने उक्त समूहमा पनि सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका प्रभावशाली नेताहरु पार्टीमा मिल्नुपर्ने र राजीनामा दिनुहुँदैन भन्ने पक्षमा छन् । बिहीबार दिउँसोसम्म नेपाल पक्षको राजीनामा रोक्न सकेको खण्डमा ओली महन्थ ठाकुरको सहयोगमा पुनः सत्तामा आउन सक्ने देखिन्छ ।
दोस्रो : जसपाको मान्यता रोक्ने
संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको मत लिँदा केपी ओली संसदबाट असफल भएपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरे । सोही अनुसार राष्ट्रपतिले वैशाख ३० गते बेलुकी ९ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गरेकी छन् ।
विश्वासको मतमा दुई खेमामा विभक्त भएको जसपामा नेतृत्वको पनि आ–आफ्नै दाउ छन् । नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र उपेन्द्र यादवले संयुक्त रुपमा एक विज्ञप्ति निकालेर राष्ट्रपतिलाई आह्वान गरेपछि जसपाको विवाद सतहमा आएको छ । जसपाको नाममा उपेन्द्र यादवले यस्तो आह्वान गरेपछि प्रथम अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाउँदै आफ्नो पार्टी सरकार निर्माणमा सहभागी नहुने सन्देश पठाएका छन् । उनले उपेन्द्र यादवको पत्रलाई मान्यता नदिन समेत आग्रह गरेका छन् ।
त्यसकारण अब राष्ट्रपतिले जसपाको पत्रलाई मान्यता दिन्छिन् कि दिँदिनन् भन्ने कुरा नै महत्वपूर्ण विषय बनेको छ । अहिलेसम्मको बुझाइमा राष्ट्रपतिले संस्थागत रुपमा नआएपछि मान्यता नदिने भन्ने नै हो । त्यसैले ओली जसपा दुई समूहमा विभक्त भएको अवस्थामा राष्ट्रपतिले उपेन्द्र यादवको हस्ताक्षरलाई दिने मान्यता रोक्न चाहन्छन् । धारा ७६ को उपधारा २ अनुसार त दुई वा दुईभन्दा बढी दल नै हो । यदि यो उपधारा अनुसार कांग्रेस, माओवादीले बहुमत पुर्याउन सकेनन् भने अन्य धारामा जानुपर्ने हुन्छ ।
तेस्रो : नेपाल समूह फुटाउने
अहिलेसम्मको अवस्था हेर्दा नेपाल समूहको एकता क्रमशः क्षीण हुँदै गएको देखिन्छ । किनभने, सुरुमा नेपाल समूहमा रहेका ३५ जना सांसदहरु मध्ये सोमबारको घटनाअनुसार अहिले २८ जना सांसद मात्र छन् ।
यही समूहमा पनि दुईवटा मत छ । एउटा ओलीलाई सहयोग गरेर पार्टी एकता जोगाउने र अर्को कांग्रेस–माओवादीलाई सहयोग गरेर ओलीलाई सत्ताच्युत गर्ने । नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराईहरु ओलीलाई सहयोग गर्ने र पार्टीभित्रै संघर्ष गर्ने पक्षमा छन् । तर, भीम रावल लगायतका नेताहरु भने ओलीलाई कुनैपनि हालतमा सहयोग नगर्ने पक्षमा छन् ।
आफ्नै समूह दुई पक्षमा विभाजित हुँदा अहिले नेपाल पक्षलाई पनि गाह्रो परेको छ । यही मौकाको फाइदा ओली लिन चाहन्छन् । किनभने नेपाल समूहलाई फुटाएर केही सांसदहरु आफ्नो पक्षमा ल्याउन सकेमा जसपाको महन्थ ठाकुरसँग रहेको अहिलेको सांसद संख्या पनि बढ्न सक्ने देखिन्छ । अहिले जसपा ठाकुर समूहमा १८ जना सांसद देखिएका छन् ।
ओलीले नेपाल समूहलाई फुटाएर प्रत्यक्ष निर्वाचित भएका ६ वा ८ सांसदलाई आफ्नो पक्षमा ल्याउन सकेमा जसपाको सांसद संख्या पनि बढ्ने देखिन्छ । जसले गर्दा ओली पुनः दोहोरिन सम्भव हुन्छ । ओली यही विकल्पमा केन्द्रित रहेर पनि अहिले परामर्श गरिरहेका छन् । नेपाल समूहका नेताहरुसँग ओलीले यही विषयमा केन्द्रित भएर छलफल पनि गर्दै आएका छन् ।
ओलीलाई सहयोग गर्नुपर्छ भन्ने नेपाल पक्षका सांसदहरु अझै बढ्न सक्ने एमालेका एक नेताको भनाइ छ । ’२/४ जना अझै कन्भिन्स हुन्छन् भन्ने बुझाइ ओलीको छ’, ती नेताले भने । त्यसो भएको खण्डमा समानुपातिक सांसद परिवर्तन गरेर ओली पुन अगाडि बढ्न सक्छन् ।
ओलीको नेतृत्वमा सरकारले निरन्तरता पाउने भएको अवस्थामा जसपाका सांसदहरुको संख्या बढ्ने एमालेका एक नेता बताउँछन् । ती नेता भन्छन्, ’ओलीकै नेतृत्वमा सरकार बन्ने र निरन्तरता पाउने हुँदा महन्थको पक्षमा रहेका सांसदहरुको संख्या २५ पुग्न सक्छ । किनभने उनीहरु अहिले ओलीलाई सहयोग गरेर सत्तामै जान चाहन्छन् ।’
अहिलेको अवस्थामा विपक्षी गठबन्धनलाई सघाउनका लागि नेपाल समूहका सांसदले राजीनामा दिँदा पनि कम्तिमा प्रत्यक्ष निर्वाचित २० जना सांसदले राजीनामा दिनुपर्ने हुन्छ । होइन भने कांग्रेस, माओवादीको पक्षमा बहुमत पुग्दैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0