भोलि साँझसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी छन्। अल्पमतको सरकार चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय लिएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि दाबी पेश गर्न समय दिएकी हुन्। 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बिहीबार राति विज्ञप्ति निकालेर शुक्रबार साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिइएको जानकारी गराएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिने निर्णय आजको मन्त्रिपरिषदबाट लिएका थिए। विश्वासको मत नलिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सांसदहरुलाई आह्वान गरेकी हुन्। 

 ओली गत वैशाख ३० गते संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री बनेका थिए। अल्पमतमा रहेका उनले संसदबाट विश्वासको मत प्राप्त नहुने भएपछि मार्ग प्रशस्त गरेका हुन्। अब उपधारा ५ बमोजिम भोलि साँझसम्म नयाँ प्रधानमन्त्रीका लागि संसदका बहुमत सदस्यको विश्वाससहित दाबी पेश गर्नुपर्ने हुन्छ।



अहिले प्रतिनिधिसभामा कसेको बहुमत छैन। यो अवस्थामा दुई वा दुई भन्दा बढी दल समर्थन लिएर संसदका कुनै पनि सदस्यले बहुमत पुष्टि गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्नेछिन्। 

यसअघि सरकारका लागि बहुमत जुटाउन असफल विपक्षी दलहरूलाई फेरि सरकार बनाउने मौका मिलेको  छ। अब कांग्रेस र माओवादीलाई बहुमत जुटाउने अर्को मौका मिलेको छ। 



तर वैशाख २९ मा उनीहरु बहुमत जुटाउन असफल भएपछि ओली नै तेस्रो पटक प्रधानमन्त्री भएका थिए यदि उपधारा ५ अनुसार पनि सरकार बन्न नसकेमा संवैधानिक रुपमै संसद विघटन गरेर राष्ट्रपतिले देशलाई चुनावमा लैजाने छिन्। चुनावी सरकारको नेतृत्व पनि केपी ओलीले नै गर्नेछन्। 

वैशाखमा जस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष तटस्थ रहेकाले बहुमतको सरकार बन्न कठिन छ। ठाकुरले करिब २० जना सांसद आफ्नो पक्षमा राखेर तटस्थ बसेका छन्। आज ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग बालुवाटारमा भेटवार्ता गरेका ओलीले संसदबाट विश्वास नलिने निर्णय लिएर उपधारा ५ खुला गरिदिएका हुन्। 


’नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ : ०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
 

  • प्रकाशित मिति : जेठ ६, २०७८ बिहीबार २०:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया