नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे आफूहरुले सल्लाह गरिरहेको बताएका छन् ।
केहीबेर अघिमात्रै कांग्रेस सभापति शेर बहादुर देउवा निवास पुगेका अध्यक्ष प्रचण्डले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे छलफल भइरहेको प्रतिक्रिया दिएका हुन् ।
देउवा निवास प्रवेश गर्दै अध्यक्ष प्रचण्डले सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै सो कुरा बताएका हुन् । राष्ट्रपतिविरुद्ध महाअभियोगकाे तयारी हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डको जवाफ छ, ‘सल्लाह हुँदैछ, आउन सक्छ ।’
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन गर्न २१ घन्टा समय दिइएको जानकारी गराइएको छ ।
विपक्षी गठबन्धनका नेताहरु भने राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी गरिरहेका छन् । देउवा निवास बुढानिलकण्ठमा यसबारे छलफल गर्न विपक्षी गठबन्धनका नेताहरु जम्मा भइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0