कोरोनाविरुद्धको खोप ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चस्तरीय कूटनीतिक पहल गरिरहेकी छन्। उनको पहलपछि चीनबाट १० लाख डोज खोप आउँदैछ। खोप उत्पादक अन्य राष्ट्रले जवाफ दिन बाँकी छ।
खोप ल्याउन सक्रिय राष्ट्रपति : स्पुतनिक-५ माग्दै भ्लादिमिर पुटिनलाई पत्र
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिएकी छन्। छिमेकीसहित खोप उत्पादक शक्ति राष्ट्रका प्रमुखहरुसँग राष्ट्रपतिले संवादलाई निरन्तरता दिएकी हुन्।
सबैभन्दा पहिले अघिल्लो बुधबार खोप उपलब्ध गराइदिन आग्रह गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेकी उनी त्यसयता निरन्तर सक्रिय छिन्। त्यसपछि बिहीबार उनले चिनियाँ समकक्षी सी जिनपिङसँग ४० मिनेट टेलिफोन वार्ता गरिन्।
उक्त वार्ताका लगत्तै राष्ट्रपति सीले कोरोनाविरुद्ध लडिरहेको नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरे। जुन खोपमध्ये २ लाख डोज चीनको कुङमिङबाट आज आउँदैछ।
बाँकी ८ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइड बडी जहाज भोलि चीनको राजधानी बेइजिङ जाने छ। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले उक्त खोप वाइडबडीले बेइजिङबाट ल्याउनेछ।
नेपाललाई ११ लाख डोज अनुदानमा दिएको भारतमा कोरोना महामारी आएपछि किनेको १० लाख पनि रोकिएको छ। किनिएको १० लाख डोज कोभिसिल्ड खोप ल्याएर पनि हानिएको छ। तर थप १० लाख डोज रोकिँदा दोस्रो खोप हान्न नपाएको अवस्थामा राष्ट्रपतिले समकक्षी कोविन्दलाई पत्राचार गरेकी हुन्।
उता चीनबाट आउन लागेको भेरोसिल्ड खोप नेपालमा पहिलो डोज लगाएकालाई दोस्रो खेप दिन प्रयोग हुनेछ। विश्वको ६० प्रतिशत भन्दा बढी खोप शक्ति राष्ट्रहरुले होल्ड गरेको अवस्थामा राष्ट्रपतिले आफूलाई सक्रिय बनाएकी हुन्।
उनले चीन र भारतसँगै अन्य खोप उत्पादक देशसँग पनि निरन्तर संवाद बढाएकी छन्। शुक्रबार मात्रै राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षी जो बाइडनलाई पत्र पठाएर खोप उपलब्ध गराउन आग्रह गरेकी छन्।
नेपालस्थित जनस्वास्थ्यविद्हरुले देश चुनावमा जानुअघि सबै नागरिकलाई खोप दिनु अनिवार्य शर्त भएको बताइरहँदा राष्ट्रपतिले निरन्तर पहल थालेकी हुन्।
राष्ट्रपति भण्डारीले बाइडनलाई लेखेको पत्रमा अमेरिकाले चाँडै विभिन्न देशलाई बाँड्न लागेको ८ करोड डोज खोपमध्ये केही खोप नेपाललाई पनि उपलब्ध गराउन आग्रह गरेकी छन्।
भारतले यो वर्षको अन्तिममा मात्रै खोप दिने अडान लिएको छ। यस्तोमा नेपालले चीन र भारतबाट ५०/५० लाख डोज खोप किन्ने रणनीति बनाएको छ। त्यही अनुसार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दुवै देशसँग वार्ता भइरहेको जानकारी दिएका छन्।
नेपाल सरकारले शनिबार मात्रै कोरोनाविरुद्धको खोप खरिदकै लागि २६ अर्ब बजेट छुट्याइसकेको छ। अर्थमन्त्री विष्णु पौडेलले चुनाव अगाडि सबै बयस्क नागरिकलाई खोप दिइसक्ने योजनासहित खोप खरिदका लागि पर्याप्त बजेट छुट्याइएको बताएका छन्। कोरोना नियन्त्रण र उपचारका लागि मात्रै सरकारले ३७ अर्ब रूपैयाँ बजेट छुट्याइसकेको छ।
खोप कुटनीतिमा आफूलाई सक्रिय बनाएकी राष्ट्रपति भण्डारीले आइतवार कोरोनाविरुद्ध सबैभन्दा पहिले खोप उत्पादन गरेको रुसका राष्ट्रपतिलाई पनि पत्र पठाएकी छन्।
उनले रुसी राष्ट्रपति पुटिनलाई कूटनीतिक च्यानलबाट पठाएको पत्रमा रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप सहयोगस्वरुप उपलब्ध गराउन आग्रह गरेकी छन्। रुससँग नेपालको पुरानो सम्बन्ध छ।
तत्कालीन सोभियत संघ हुँदै उसले नेपालमा कयौँ सडक र पुल निर्माण गरिदिएको थियो। रुसमा कयौँ गैरआवासीय नेपालीहरु पनि रहँदै आएका छन्। कोरोनाविरुद्ध रुसले उत्पादन गरेको खोप सबैभन्दा प्रभावकारी मानिएको छ।
नेपालमा आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरिएको पृष्ठभूमिमा सरकारले खोप ल्याउन सबै किसिमको कूटनीतिक पहल अघि बढाएको हो। शक्ति राष्ट्रहरूले खोप होल्ड गरेर राखेकाले उच्चस्तरीय कूटनीतिक पहल चाहिने आवाज जनस्तरमा उठिरहेका बेला राष्ट्रपतिको सक्रियताले तत्कालै १० लाख डोज खोप चीनबाट आउँदैछ।
तर भारत, अमेरिका, रुससहितका देशहरुको प्रतिक्रियाको प्रतीक्षामा सरकार बसेको छ। नेपालमा अहिलेसम्म करिब ३० लाख नागरिकले खोप हानिसकेका छन्। जसमा पहिलो डोज हान्ने २२ लाख भन्दा धेरै छन् भने दोस्रो डोज हान्ने ५ लाख भन्दा धेरै रहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0