वडास्तरमा स्वयंसेवक परिचालन गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् प्रतिकार्यका लागि वडा स्तरमा स्वयंसेवक परिचालन गर्न कालिकोटका स्थानीय तहलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य पूर्वाधार र योजना अनुगमनका लागि गृह जिल्ला कालिकोट पुगेका मुख्यमन्त्री शाहीले जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । कोरोना महामारी र जिल्लामा बर्सेनि प्राकृतिक प्रकोपबाट उत्पन्न हुने समस्याबारे समयमै सजक हुन् निर्देशन दिँदै मुख्यमन्त्री शाहीले प्रत्येक वडा तहमा स्वयंसेवक परिचालन गर्नुपर्नेमा जोड दिए । 

‘यो अवस्थामा जनतालाई भित्र राखेर सेवक बाहिर हिँड्नु पर्छ, प्रत्येक कर्मचारी, जनप्रतिनिधि, सबै सरोकारवाला निकाय र संरचनाहरू यतिबेला कोरोना महामारी केन्द्रित हुन आवश्यक छ,’ मुख्यमन्त्री शाहीले भने, ‘सबै मिलेर महामारीको सामना गरौं, जनतालाई आवश्यक राहात र दरिलो साथ दिऔं ।’

मुख्यमन्त्री शाहीले कोभिड नियन्त्रणको पहिलो प्राथमिकता जनचेतना भएको भन्दै आवश्यक जनचेतना फैलाउन समेत आग्रह गरे । साथै निषेधाज्ञा थप कडा गर्न समेत निर्देशन दिए । ‘स्थानीय तहको आगामी बजेट कोरोना केन्द्रित गर्नुस्,’ स्थानीय तहका प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री शाहीले भने, ‘युवाहरूलाई रोजगारीको सिर्जना गर्नुस्, बालबालिकाको भविष्य निर्माणका लागि आवश्यक योजना ल्याउनुस्, समग्रमा आउँने पिँढीलाई बजेट केन्द्रित गर्नुस् ।’



बैठकमा स्थानीय तहका अध्यक्ष एवम् प्रमुख लक्ष्मणबहादुर बम, खड्गराज सेजुवाल, डिबी शाही लगायतले स्थानीय तहले भोगिरहेका समस्याबारे मुख्यमन्त्री शाहीलाई रिर्पोटिङ्ग गरेका थिए । उनीहरूले थप स्वास्थ्यकर्मी, आवश्यक स्वास्थ्य सामग्री र बजेटको प्रबन्ध गरिदिन मुख्यमन्त्री शाहीलाई आग्रह समेत गरेका छन् । 

गाउँमा विवाह, व्रतबन्ध र मलामी जानेक्रम नरोकिएकाले कोरोना संक्रमण नियन्त्रण गर्न थप चुनौती भएको बताएका थिए । गाउँमा कोरोना परीक्षण गर्दा प्राविधिक समस्या, स्थानीयले परीक्षण गर्न नमान्ने र जनचेतनाको अभाव रहेको समेत पाइएको छ । 



मुख्यमन्त्री शाहीले यसअघि सोमबार नै जिल्ला अस्पताल कालिकोटका डाक्टरहरूसँग पनि छलफल गरेका छन् । छलफलका क्रममा अस्पतालका निमित्त प्रमुख कटक महतले १४३ जना कर्मचारी दरबन्दी आवश्यक माग पत्र मुख्यमन्त्री शाहीलाई बुझाएका छन् । त्यस्तै चिकित्सकहरूले आइसियु सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीले पाउनुपर्ने भत्ता समयमै उपलब्ध गराइदिन आग्रह गरेका छन् । 

छलफलका क्रममा मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्नेमा विश्वस्त बनाए ।

‘तपाईंहरू उच्च मनोबलका साथ काम गर्नुस्, प्रदेश सरकार तपाईंहरूको साथमा छ,’ उनले भने, ‘कुराभन्दा पहिला काम गर्नुस्, बिजुली नभएको ठाउँमा सोलार जडान गर्नुस्, त्यसका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्छ ।’ साथै मुख्यमन्त्री शाहीले यो वर्षको एकमुष्ट जोखिम भत्ता तत्काल उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरे ।

  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १३:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया