अप्रिल ४ मा नेपाल फुटबल संघ(एन्फा) ले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय फुटबल टिमको जिम्मेवारी सुम्पिएको थियो । जिम्मेवारी पाएपछि उनले सुरुवातमै भनेका नेपाली फुटबलमा सुधार ल्याउन प्रयास गर्नेछु र हरेक खेलाडीले आफ्नो स्थानका लागि संघर्ष गर्नु पर्नेछ ।
अलमुताइरीले परिवर्तनको सुरुवात राष्ट्रिय टिम निर्माणबाटै गरे । उनले इराकसँगको मैत्रीपूर्ण खेल तथा विश्वकप तथा एसियन कप संयुक्त छनोटका लागि टिम घोषणा गर्दा विकेश कुथु, रेजिन धिमाल, भरत खवास, सेसेहाङ आङदेम्बे जस्ता नियमित सदस्यलाई बाहिर राखे ।
युवा खेलाडीलाई बढी विश्वास गरेका उनले मनिष डाँगी, आयुषा घलान, गौतम श्रेष्ठ, सुरज ज्यु ठकुरी, कमल थापा र विशाल सुनारलाई पहिलोपटक राष्ट्रिय टिममा स्थान दिलाए । अलमुताइरीले नेपाललले रक्षात्मक भन्दा पनि आक्रामक फुटबल खेल्ने बताएका थिए ।
अलमुताइरीको प्रशिक्षणमा नेपालले ४ खेल खेलको छ जसमा टोलीले तीन हार र १ जितको नतिजा निकालेको छ । यी ४ खेलमा नेपालले विगतभन्दा केही आक्रामक खेलेको देखिन्छ ।
अलमुताइरीको आगमनले नेपाली फुटबलमा केही परिवर्तनको संकेत गरेको छ । खेलाडीमा आत्मविश्वास बढेको आभास समर्थकले गर्न पाएका छन् ।
यस्तो रह्यो अलमुताइरीको प्रशिक्षणमा नेपालले खेलेका ४ खेल
इराकसँगको मैत्रीपूर्ण खेल
यो नेपालले अलमुताइरीको प्रशिक्षकमा खेलेको पहिलो आधिकारिक खेल थियो । मे २९ मा इराकको घरेलु मैदानमा भएको खेल नेपालले ६-२ ले गुमायो । तर नेपालको खेल निकै आकर्षक थियो । एसियन कप विजेता र विश्वकप अनुभव लिइसकेको इराक विरुद्ध नेपालले केही समय भए पनि दबाब सिर्जना गरेको थियो । तर उसले आफ्नै गल्तीका कारण खेल हार्न पुग्यो ।
इराक विरुद्ध नेपालका लागि डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीले सिनियर टोलीबाट डेब्यू गर्ने मौका पाए ।
मनिषले नेपालका लागि डेब्यु खेलमै गोल गर्दा अर्को गोल उपहार स्वरूप पाएको थियो । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाल विश्वकप तथा एसिया कप संयुक्त छनोट दोस्रो चरण अन्तर्गत बाँकी रहेका ३ खेल खेल्न कुवेत पुग्यो ।
कुवेतमा नेपाली टोलीको प्रदर्शन
चाइनिज ताइपेई विरुद्ध
नेपालले जुन ३ मा विश्वकप तथा एसियन कप संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत चाइनिज ताइपेई विरुद्ध खेलेको थियो । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा नेपालले २-० को जित हात पार्याे ।
खेलको चौथो मिनेटमा नै अञ्जन विष्टले पेनाल्टी मार्फत् गोल गर्दै नेपाललाई अग्रता दिलाए । ८१ औं मिनेटमा नवयुग श्रेष्ठले टोलीको अग्रता दोब्बर बनाए । यो खेलमा नेपालले इराकसँग भएका गल्तीलाई सुधार गरेको थियो ।
जोर्डन विरुद्ध
नेपालले जुन ७ मा जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमै जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो । खेलमा ३-० ले पराजित भए पनि आफूभन्दा बलियो टोली विरुद्ध नेपालको प्रदर्शन सन्तोषजनक थियो ।
२४ औं मिनेटमा पेनाल्टी मार्फत् गोल खाए पनि पहिलो हाफमा नेपालको प्रदर्शन उच्च थियो । तर दोस्रो हाफमा भने उसले सोचेअनुरूपको प्रदर्शन गर्न सकेन ।
अष्ट्रेलिया विरुद्ध
विश्वकप तथा एसियन कप संयुक्त छनोट अन्तर्गत जुन ११ (शुक्रबार) नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गरेको थियो । पाँच पटक विश्वकपको अनुभव बटुली सकेको अस्ट्रेलिया विरुद्ध नेपालले छनोटकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्याे भन्दा फरक नपर्ला ।
४५ औं मिनेटमा मार्टिन बोएललाई लडाउँदा रोहित चन्दले सिधै रातो कार्ड पाइ मैदान छाडे । रोहितले मैदान छाड्नु अघि नै नेपाल २ गोलले पछि परिसकेको थियो । १० खेलाडीमा सीमित दोस्रो हाफमा १ गोल मात्र खानुलाई राम्रो प्रदर्शन मान्नु पर्छ ।
यही खेल मार्फत् मिडफिल्डर आयुष घलान, सुरज ज्यु ठकुरी र कमल थापाले सिनियर टोलीबाट डेब्यु गर्ने अवसर पाए ।
एसियाली पावर हाउसका रूपमा परिचित अस्ट्रेलिया विरुद्ध ३-० को हार त्यति खराब नतिजा होइन ।
प्रशिक्षक अलमुताइरीको प्रशिक्षणमा नेपालले ४ खेल खेल्दा ४ गोल गरी १२ गोल खाएको छ । प्रशिक्षकले युवा खेलाडीलाई बढी प्राथमिकता दिएको हुँदा यो टोलीबाट राम्रो नतिजा आउन केही समय लाग्छ । मिडफिल्डर मनिष डाँगी र डिफेन्डर गौतम श्रेष्ठले आफूलाई राम्रो सम्भावना बोकेको खेलाडीका रूपमा प्रमाणित गरेका छन् ।
यी चार खेलले नेपाली फुटबलमा केही परिवर्तनको संकेत भने दिएको छ । यसले आगामी दिनमा दक्षिण एसियालीका साथै एसियाली क्षेत्रमा पनि नेपालले राम्रो नतिजा ल्याउने अनुमान गर्न सकिन्छ ।
प्रशिक्षक अलमुताइरीले आक्रामक फुटबललाई जोड दिँदै खेलाडीको आत्मविश्वास बढाउने काम गरिरहेका छन् । इराक विरुद्धको खेलमा बाहेक अन्य तीन खेलमा नेपाली डिफेन्डरले पनि राम्रो प्रदर्शन गरेका छन् । यदि नेपाली फुटबलमा परिवर्तन चाहने हो भने प्रशिक्षक अलुमताइरीलाई बिना दबाब काम गर्न दिनुपर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0