राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको चालू अधिवेशनमा सम्बोधन गर्ने भएकी छिन् । राष्ट्रिय सभाको आठौँ अधिवेशन बिहीबार दिउँसो ४ बजेदेखि सुरु हुँदै छ।
प्रधानमन्त्री केपी ओलीसँगको बिहीबारको भेटमा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा सम्बोधनको इच्छा व्यक्त गरेको बताइएको छ ।
संविधानको धारा ९५ को उपधारा १ मा चाहेको अवस्थामा राष्ट्रपतिले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्न सक्ने व्यवस्था रहेको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी आइतबार वा सोमबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने बताएका छन् ।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्न चाहेको जानकारी गराएका थिए ।
संसद सचिवालयका कर्मचारीले भने सदनको संयुक्त अधिवेशन आह्वान गर्ने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबाहेक अरूबेला राष्ट्रपतिले संसदमा उपस्थित हुने परम्परा नरहेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0