प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो साताको सुरुमै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
प्रधानमन्त्री नियुक्त भएको करिब डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार नगर्दा चौतर्फी आलोचना खेपिरहेका देउवाले आउँदो साता नेकपा (एकीकृत समाजवादी) दलको कोटामा पर्ने बाहेकका मन्त्रीहरु समेटी मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।
‘नेकपा (एकीकृत समाजवादी) पार्टीले तत्काल मन्त्रीको नाम नपठाउने जानकारी दिएको छ । यसकारण नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको कोटामा पर्ने मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो’, देउवा निकट स्रोतले फरकधारलाई बतायो ।
आउँदो साता देउवाले मन्त्रिपरिषद् विस्तार गरे पनि पूर्णत भने नपाउने भएको छ । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम दिन माधव नेपाल तयार नभएपछि मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको हो ।
मन्त्री बन्नेहरुको नाम छनौट गर्न केही समय लाग्ने र पार्टीमा छलफल गर्नुपर्ने भन्दै नेपालले अन्य दललाई समेटर मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई अनुरोध गरेको स्रोतले बतायो ।
हाल मन्त्रिपरिषद्मा नेपाली कांग्रेसको तर्फबाट दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् भने नेकपा (माओवादी केन्द्र)को तर्फबाट दुई जना मन्त्री रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0