देशको सबैभन्दा ठूलो खेल प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण फागुनमा गर्ने तयारी भइरहेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच उक्त कुरा बताएका हुन् ।
सदस्य सचिव सिलवालले नवौंका उत्कृष्ट खेलाडीलाई पाकिस्तानमा हुने १४ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि बन्द प्रशिक्षणमा राखिने पनि बताएका छन्।
रिभाइभ लिजर पार्कको आयोजनामा बिहीबारबाट सुरु भएको प्रथम रिभाइभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको उद्घाटनका क्रममा सिलवालले नवौं राष्ट्रिय खेलकुद फागुन ६ देखि १६ गते सम्म आयोजना गर्ने गरी आवश्यक तयारी भइरहेको जानकारी दिए ।
नवौं संस्करण गण्डकी प्रदेशले आयोजना गर्दैछ । लुम्बिनी प्रदेशमा २०७५/७६ मा भएको आठौं राष्ट्रिय खेलकुदको समापनका दौरान गण्डकीले आयोजनाको झण्डा ग्रहण गरेको थियो ।
कोरोना संक्रमणका कारण निर्धारित समयभन्दा एक वर्ष ढिला नवौं आयोजना हुने सम्भावना देखिएको छ । यसअघि २०७७ फागुन २० देखि २७ गते सम्म आयोजनाको घोषणा भएको थियो ।
यद्यपि नवौं आयोजनाको औपचारिक निर्णय भने भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0