राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरस्थित नवदुर्गाकोे दर्शन गरेकी छिन् ।
दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले पूजा–अर्चना एवं दर्शन गरेर विजयादशमीलाई बिदाइ गरिने परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति भण्डारीले भक्तपुरमा नवदुर्गाको दर्शन गरेकी हुन् ।
राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले मंगलबार साँझ ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरिन् । उक्त अवसरमा नवदुर्गाका मूल पूजारीले राष्ट्रपतिलाई नवदुर्गा भवानीको टीका तथा प्रसाद प्रदान गरेका थिए ।
यस्तै, नवदुर्गा गणका नाइके विजेश वनमालाले राष्ट्रपतिलाई नवदुर्गाको फूलमाला, बिमिरो र पञ्चरंगी धागो दिइन् । नवदुर्गाका मूल पुजारीले राष्ट्रपतिलाई नवदुर्गा भवानीको प्रसादको रुपमा फूलमाला, बिमिरो र पञ्चरंगी धागो दिने पुरानो चलन हो ।
नवदुर्गा गणको जात्राका लागि समस्या भएको वनमालाहरुले राष्ट्रपतिलाई जानकारी गराएका थिए । उनीहरुले अघिल्लो वर्ष राष्ट्रपतिको नै उपस्थितिमा भएको नवदुर्गा गणको जात्राको खर्चबापत पाउनुपर्ने सहयोग हालसम्म नपाएको पुजारी बालकृष्ण बनमालाले जानकारी गराएका थिए ।
नवदुर्गाको मुकुटसहितको मुकुन्डोको दर्शन र पूजा गर्दा राष्ट्रप्रमुखले प्रत्येक मुकुन्डोमा दक्षिणा चढाउने परम्परा छ । यसरी चढाइने दक्षिणाको हकदार पुजारी हुने व्यवस्था छ ।
नवदुर्गा गणमा अष्टमातृका, महादेव, भैरव, गणेश, सिंह र दुम्ह गरी १३ वटा देवताका छुट्टाछुट्टै मुकुन्डो हुन्छन् । राष्ट्रपति भण्डारीले नवदुर्गा पूजासँगै देवगणलाई प्रतिव्यक्ति एक हजार पाँच रुपैयाँ खामबन्दी दक्षिणा चढाएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0