प्रदेश १ को मुख्यमन्त्रीबाट भखैरै बिदा भएका भीम आचार्यले आफ्नो कार्यकालमा जनजीविकाका सवालमा उल्लेख्य कामहरु गरेको दाबी गरेका छन् । सोमबार प्रदेश १ को प्रदेशसभामा बोल्दै आचार्यले आफूले जनतासँग जोडिएका काम गरेको र यसले प्रदेशको विकास र समृद्धिमा ठोस काम हुने दाबी गरे ।
उनले राजनीतिक परिस्थिति प्रतिकूल भएको अवस्थामा पनि ठोस काम गरेको उनको दावी छ । उनले कोभिड नियन्त्रण र रोकथामा उल्लेखनीय काम गरेको दाबी गरेका छन् ।
कोभिड–१९ संक्रमणको उच्च जोखिमयुक्त स्थान पहिचान र परीक्षणको मापदण्ड बनाई सोका आधारमा कोभिड–१९ परीक्षणको दायरा विस्तार गरेको दाबी उनले गरे । ६४ दिन सत्तामा रहँदा उनले प्रदेश सरकार मातहतका सबै अस्पतालमा सञ्चालित कोभिड–१९ विरुद्धको निःशुल्क उपचार सेवालाई निरन्तरता दिएको बताए ।
प्रदेश सभामा बोल्दै आचार्यले स्थानीय तह र सुरक्षा निकायसमेतको समन्वयमा कोभिड–१९ विरुद्धको खोप समयमै सहज रूपमा लक्षित व्यक्तिले प्राप्त गर्ने गरी थप व्यवस्थित गरिएको बताए ।
उनले आइसियू, एचडियू, भेन्टिलेटर अक्सिजनलगायत स्वास्थ्य सामग्रीको विवरण अद्यावधिक गर्ने काम भएको र कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनसमेतका लागि प्रदेश नं. १ कोरोना जनसुरक्षा कोषमा १० करोड जम्मा गर्ने काम भएको बताए । इटहरीस्थित यातायत व्यवस्था कार्यलयको व्यवस्थापनमा समेत आफूले काम गरेको उनको दाबी छ ।
सेवाग्राहीको उच्च चाप रहने यातायात व्यवस्था कार्यालय र यातायात व्यवस्था सेवा कार्यालयबाट प्रवाह हुने सेवालाई सहज, छरितो र सेवाग्राही मैत्री बनाउन अनलाइन प्रणालीको विकास वा सुधारलगायतका आवश्यक कार्य थालनी भएको र केहि दिनमै काम सुरु हुने समेत उनले दाबी गरे । यसैगरी, यातायात कार्यालय धनकुटालाई पूर्ण अधिकार र क्षमतामा सञ्चालन अनुमति दिएकाले यसले पूर्वी पहाडी जिल्लाका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।
प्रदेश सभमा बोल्दै आचार्यले आफू मुख्यमन्त्री रहँदा प्रदेश १ का जनताका सुविधाका लागि सबै जिल्लामा विषयगत कार्यालय स्थापना गर्ने गरी भएको निर्णयलाई उपलब्धिको रुपमा उल्लेख गरे ।
उनले आवश्यक अध्ययन गरि प्रतिवेदन पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिवको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको र उक्त समितिले आवश्यक अध्ययन पूरा गरी पेस गरेको प्रतिवेदनलाई मन्त्रिपरिषदले स्वीकृत गरी आवश्यक कार्यन्वयनका लागि सम्बन्धित मन्त्रालयमा पत्रचार गर्ने निर्णय भएको बताए ।
आचार्यले बृहत् विराट क्षेत्रभित्र प्रदेशको कार्यपालिका, व्यवस्थापिकालगायतका अन्य संरचना निर्माण गर्नका लागि उपयुक्त स्थानमा जग्गा खोजी गर्ने काम सुरु गरेको बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक तथा प्रशासन महाशाखाका सचिव संयोजक रहेको कार्यदलले काम सुरु गरिसकेकोले यो ठूलो उपलब्धि भएको उनको तर्क छ ।
आफू मुख्यमन्त्री रहँदा प्रदेशको राजस्व वृद्धिका लागि ठोस काम भएको र यसले नयाँ आउने सरकारलाई फाइदा पुग्ने उनले बताए । आचार्यका अनुसार सरकारले राजस्व स्रोत परिचालनका लागि उच्चस्तरीय राजस्व अध्ययन कार्यदल गठन गरेको छ ।
उनले प्रदेशसभामा भने,‘विज्ञ तथा पूर्वसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठन भएको कार्यदलले राजस्व स्रोत पहिचान, वृद्धिका लागि आवश्यक काम सुरु गर्नेछ । आफ्नो सरकारले आन्तरिक स्रोतबाट आगामी आर्थिक वर्षमा थप २५ अर्ब बजेट वृद्धि गर्ने लक्ष्यका साथ काम गरिरहेको उनको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0