दुईतिहाईको सरकार पूर्ण असफल : चिनकाजी
सरकारले जनतालाई दिउँसै रात पार्ने खालका भाषाहरू प्रयोग गरिरहेको छ

काठमाडौं– नेपाली कांग्रेसका नेता चिनकाजी श्रेष्ठले वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा बोल्दै उनले अहिलेको सरकारले दिन दुईगुणा, रात चौगुणाले काम गर्नुपर्नेमा कुनै काम गर्न नसकेको आरोप लगाए ।

पाँच वर्षको आयु रहे पनि स्थायी सरकारको गतिविधि देखाउन नसकेको भन्दै उनले सरकार कछुवागतिमा घिस्री मात्र रहेको टिप्पणी गरे । 

सरकारले जनतालाई दिउँसै रात पार्ने खालका भाषाहरू प्रयोग गरिरहेको श्रेष्ठको आरोप छ । 



नेता श्रेष्ठले सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीले रेल कुदाउने, राष्ट्रिय ध्वजाबाहक पानीजहाज चलाउने योजना सार्वजनिक गरे पनि यी सबै दीर्घकालीन योजना भएकाले अहिले सरकारले त्यतातिरभन्दा पनि जनतालाई तत्कालीन राहत दिने कार्यमा ध्यान दिनुपर्ने बताए । 

राजधानीमै गाडी चढेर हिँड्न अप्ठ्यारो रहेको चर्चा गर्दै नेता श्रेष्ठले पहिला काठमाडौंका सडकहरूको व्यवस्थापनमा ध्यान दिन सुझाब दिए । ‘अन्तर्राष्ट्रिय सम्मेलनहरू हुँदा रातारात सडक पिच भएका छन् । तर, अहिले आएर पैसा छैन भन्न यो सरकारलाई सुहाउँछ ?’ उनले प्रश्न गरे । 



वर्तमान कम्युनिष्ट सरकार यतिवेला अन्योलपूर्ण अवस्थामा रहेको भन्दै श्रेष्ठले भने, ‘दुईतिहाईको सरकार भए पनि यसले संघीयता कार्यान्वयन गर्ने र प्रदेश सरकारलाई मजबुद बनाउने काम गर्न सकेको छैन ।’

  • प्रकाशित मिति : कात्तिक २५, २०७५ आइतबार १९:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया