नेपालमा अरब सागरमा बनेको निम्न चापीय मौसमको प्रभाव देखिएको छ । जसले गर्दा देशभर बादल लागेको छ । जुन भोलिसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू–भागहरूमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद् बरुण पौडेलले बताए ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको रहेको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।
त्यस्तै, आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिकदेखि सामान्य बदली रहेको उनको भनाइ छ ।
कर्णाली र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
अरब सागरमा बनेको निम्न चापीय मौसमको प्रभाव भोलिसम्म रहनेछ । पर्सिबाट भने विस्तारै घाम लाग्ने मौसमविद् पौडेलले बताए ।
अहिले बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । जसकारण नयाँ दिल्ली पूरै प्रदूषित बनेको छ ।
भारतको सर्वोच्च अदालतले नै वायु प्रदूषण नियन्त्रण गर्न सरकारका नाममा आदेश दिएको छ । २१ नोभेम्बरसम्म नयाँ दिल्लीमा शिक्षण संस्था बन्द गरिएका छन् । साथै, त्यहाँ निर्माण कार्यमा समेत रोक लगाइएको छ । सरकारले कर्मचारीलाई घरबाटै काम गर्नसमेत निर्देशन दिइसकेको छ ।
दिल्लीमा हरेक वर्षको हिउँदमा प्रदूषणको समस्या हुन्छ । किसानले आफ्नो खेतमा रहेको फोहोर जलाउने, गाडीबाट हुने प्रदूषण तथा आतिशबाजीका कारण हरेक वर्षको हिउँदमा वायु प्रदूषण बढ्ने गरेको हो ।
भारतमा देखिएको वायु प्रदूषण नेपालसम्म पर्नसक्नेतर्फ सचेत गराउन थालिएको छ । तर, मौसदविद् पौडेलले भने नेपालमा त्यसको खासै असर नपर्ने बताए । जाडोयाममा वायुमण्डल स्थिर रहने हुनाले भारतमा देखिएको वायु प्रदूषणको प्रभाव नेपालसम्म नपुग्ने उनको भनाइ छ ।
तीव्र गतिमा हावा चलेको खण्डमा त्यसको असर पर्न सक्ने भन्दै त्यसतर्फ सबैले सचेत रहनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0