राष्ट्रपति भण्डारी सोमबार जलेश्वरनाथ महादेवको दर्शन गर्ने ​

बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार यहाँ आउने भएकी छन् ।

राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजाअर्चना र दर्शनका लागि जलेश्वर आउने भएपछि उनको स्वागत, सत्कार र अभिनन्दन गर्न स्थानीयवासी  आत्तुर देखिएका छन् । उनको स्वागतका लागि जलेश्वर नगरपालिकाले विभिन्न स्थानमा स्वागतद्वारा निर्माण, बाबा जलेश्वरनाथ महादेव मन्दिरलाई सजाउने र राष्ट्रपतिको सम्मान गर्ने कार्यको विशेष तयारी गरेको नगर प्रमुख रामशङ्कर मिश्रले बताए ।

जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले उहाँलाई जलेश्वरवासीका तर्फबाट अभिनन्दन गर्दै मायाको चिनो प्रदान गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिए । राष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्नेलगायतका कार्यक्रमका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मेवारी विशेष कार्यदलको रहेको र सम्पूर्ण तयारी पूरा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए ।

अनादी कालमा जलेश्वर घनाजङ्गल रहेको बेला बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेका बेला स्यवं महादेवले बाबा जगदीशनाथलाई स्वप्न दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किम्बदन्ती छ ।



जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी (भर्‍याग) मुनी जमिनभित्र रहेको छ, जहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको ३६५ दिन जलमै विराजमान रहने जनविश्वास छ । यस मन्दिरमा भगवान शिवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतीक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।



  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १६:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया