राष्ट्रपति विद्यादेवी भण्डारी महोत्तरीको मटिहानी पुगेकी छिन् । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रंगशालाको सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताएकी छिन् ।
प्रदेश नं २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रह गरिन् ।
मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।
तराईको जीवन चुरे पर्वतसँग अभिन्न रुपले जोडिएको हुँदा चुरेको संरक्षणमा समुचित ध्यान पुग्न आवश्यक रहेको राष्ट्रपति भण्डारीले बताइन् । चुरेको संरक्षणविना तराईको समृद्धि सम्भव नरहेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले ३०० वर्ष पहिले मटिहानीमा स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको बताइन् ।
समारोहमा राष्ट्रपति भण्डारीलाई मटिहानी नगरपालिका, सांसद चन्दा चौधरी र महोत्तरी उद्योग वाणिज्य संघले मिथिला कला, संस्कृति झल्कने उपहार प्रदान गरेका थिए । सो अवसरमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले राष्ट्रपतिलाई अभिनन्दनपत्र प्रदान गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0