आफ्नो स्थापनाकालको १० वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबिबिएस) मा अध्यापन सुरु गर्दैछ । २०६८ सालमा स्थापना भएको प्रतिष्ठानले पहिलो पटक एमबिबिएसको अध्यापन गराउन लागेको हो ।
आज एक कार्यक्रम गरेर उद्घाटन गरिँदैछ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुग्दैछिन् । उद्घाटनका लागी राष्ट्रपति भण्डारीसँगै स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खातुङ पनि कर्णाली पुग्दैछन् ।
यही वर्षबाट चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चिकित्साशास्त्रतर्फ एमबिबिएस अध्ययन गर्न स्वीकृत दिएको थियो । अनौपचारक पढाइ केही दिन अगाडिबाटै सुरु गरे पनि औपचारिक रूपमा आजदेखि सुरु हुने रजिस्ट्रार नृपेन्द्र महतले जानकारी दिए ।
प्रतिष्ठानमा पहिलो पटक एमबिबिएससँगै बी फार्मा, बिएन (स्नातक तहमा नर्सिङ) र पब्लिक हेल्थ कोर्स पढाइ हुँदैछ । चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यो वर्ष एमबिबिएसका लागि २० जनाको कोटा तोकेको थियो । पहिलो वर्ष नै १९ जना विद्यार्थी अध्ययनका लागि आएका छन् । त्यस्तै स्नातक तह फार्मेसीमा पनि आयोगले २० जनालाई पढाउन स्वीकृति दिएको थियो । बी फार्मामा ताकिएको २० कोटामा ११ जना, बीएनमा ८ जना र बिपिएचतर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् ।
प्रतिष्ठानमा भर्ना भएका विद्यार्थीहरूलाई गत साता आइतबारबाट अभिमुखीकरण दिन सुरु गरिएको थियो । २० सिटमध्ये १५ सिट पूर्ण छात्रवृत्ति र पाँच सिट सःशुल्कमा अध्यापन हुने महतले बताए। प्रतिष्ठानले हाल भवन भाडामा लिएर पठनपाठन गराउँदै आएको छ । विद्यार्थीहरूले प्रयोगात्मक कार्यका लागि भने प्रतिष्ठानकै अस्पताल पाउनेछन् ।
कक्षा भवन, विद्यार्थीहरूलाई बस्नका लागि होस्टेल लगायतका पूर्वाधार भाडामा लिएर काम चलारहेको रजिस्ट्रार महतले जानकारी दिए । विगतका वर्षहरूमा अन्यत्रबाट डाक्टर खोजी गरेर बिरामीलाई सेवा दिँदै आएको कर्णालीले पहिलो पटक डाक्टर उत्पादन गरेर अन्यत्र पठाउने तयारीमा लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0