प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन् ।
राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले सम्हाल्नेगरी दिएकी हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रपति भण्डारीले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेकाे बताए ।
उनले भने, ‘सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषदका माननीय रक्षामन्त्री डा. मिनेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनु भएकाले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।
कांग्रेस नेतासमेत रहनु भएका रक्षामन्त्री रिजालले पार्टीको महाधिवेशनमा महामन्त्री पदमा हार व्यहोरेपछि गत पुस २ गते शुक्रबार मन्त्री पदबाट राजीनामा दिनु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0