सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ ।
आइतबार शीतलनिवासमा ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गरेकी हुन् । उनले नयाँ र पुरानो पुस्ताबीच पर्याप्त संवादको अभावमा आजभोलि परिवार र समाजमा विभिन्न समस्या उत्पन्न भइरहेको बताइन् ।
राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकले अवहेलना र दुर्व्यवहार व्यहोर्नुपरेको भन्दै ज्येष्ठ नागरिकलाई आघात पुर्याउने यस प्रकारका प्रवृत्तिलाई निरुत्साहित गरी सभ्य समाज निर्माणमा क्रियाशील हुन आह्वान गरिन् ।
उनले नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि मासिक, सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक क्षेत्रका विभिन्न सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्था गरेको र कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार प्रदान हुने बताइन् ।
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारले पहिलोपल्ट ज्येष्ठ नागरिकको सम्मान गरेकोमा खुसी प्रकट गर्दै यो नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने दिनको रुपमा स्मरण गरिने बताइन् । उनले नेपाल सानो मुलुक भए पनि यहाँको परम्परा रितिस्थिति, धर्म संस्कृतिलाई सुहाउने गरेर ज्येष्ठ नागरिकलाई गरिएको सम्मान नेपालको इतिहासलाई धन्य बनाएको बताए ।
शताब्दी पुरुष जोशीले जीवनलाई सादा जीवन उच्च विचार र सन्तोषमय बनाउनु पर्ने बताए । जीवनलाई सत्यमशिवम बनाउने काम आफ्नो हातमा रहेको भन्दै उनले आफूले आफूलाई चिनेर काम गर्नुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0