बहसमा आउन बुद्धिजीवीलाई सरकारको चुनौती

काठमाडाैं– केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीहरुलाई ‘कोट काट्ने मुसा’को संज्ञा दिएका थिए । नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममार्फत उनले पुनः एकपटक ‘आफूले जवाफ दिए बुद्धिजीवी थला पर्ने’ अभिव्यक्ति दिए । 

बुद्धिजीवीसँग निकै आक्रोशित देखिएका प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उनको बचाउ गर्दै भने, ‘प्रधानमन्त्रीले कसैलाई थला पार्ने कुरा गर्नुभएको होइन । उहाँले त बहसमा उत्रिन आग्रह गर्नुभएको हो ।’

बुद्धिजीवीलाई बहसमा आउन चुनौती दिँदै सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री बाँस्कोटाले भने, ‘सरकार बुद्धिजीवी र मिडियाको विरोधमा लागेको छैन । स्वस्थ र तथ्यगत बहसमा उत्रिन आग्रह हो ।’ 

यसअघिको नियमित पत्रकार भेटघाटमा सञ्चारमाध्यमप्रति आक्रोशित बनेका बाँस्कोटाले बिहीबार पनि सञ्चारमाध्यमले नै सूचना तोडेर, मोडेर समाचार प्रसारण गरेका कारण सरकारको आलोचना भइरहेको आरोप लगाए ।



यसै सन्दर्भमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अशोभनीय भन्दै लेखेका छन्, ‘बुद्धिजीवी ‘थला पर्नेछन्’ अर्थात् ‘थला पार्ने’ कर्म हुनेछ । गरिमामाय उचाइबाट यस्तो ‘धम्की’ बोलिनु शोभनीय भएन ।’

ओलीको बोली अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा रहेकोतर्फ संकेत गर्दै शर्माले अगाडि लेखेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा बोल्नुभन्दा आफ्नो कर्ममा बौद्धिकतालाई स्थान दिनु राम्रो होला कि, सम्माननीय !’
 



  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार १९:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया