तनहुँमा सडक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
चितवनबाट पोखरातर्फ आइरहेको ग२ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ग३च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए । टाटासुमोमा सवार नौजना र बसमा सवार चारजना घाइते भएका हुन् ।
तीमध्ये टाटासुमोमा सवार नौजना घाइतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएकोमा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । दुर्घटनामा मृत्यु भएकामध्ये एकजनाको मात्र पहिचान खुलेको उनले बताए ।
मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–८ का ७३ वर्षीय रुद्रबहादुर सेन ठकुरीको मात्र पहिचान खुलेको उनले बताए । अन्दाजी ३० वर्षीया महिला र ५० वर्षीय पुरुषको पहिचान खुल्न नसकेको उनले बताए ।
टाटासुमो बससँग ठक्कर खाएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो । बसमा सवार घाइते चारजनाको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सामान्य छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0