नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामर्थ्य देखिने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामर्थ्य देखिने बताएका हुन् ।
चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उनले आफूहरूलाई खिसीट्युरी गर्नेहरूको हरिबिजोग हुने बताए । उनले पार्टीको चुनाव चिन्ह कलमले कमाल देखाउन सक्नुपर्ने पनि बताए ।
'राष्ट्रियसभाको पहिलो चुनावमा पनि देखाएका छौँ हामीले । राष्ट्रियसभाको दोस्रो चुनावमा पनि देखाएका छौँ हामीले अब स्थानीय तहको चुनावमा हाम्रो सामर्थ्य देखिनेछ । र हाम्रा खिसीट्युरी गर्ने तत्त्वहरूको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ ।’
अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई पार्टीको संगठन निर्माण, परिचालन र प्रचार प्रसारको काममा केन्द्रित हुन पनि निर्देशन दिए ।
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा प्रगतिशील भूमिका खेल्नेहरू पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरू दण्डित हुनुपर्ने धारणा राखे । प्रतिगामी भूमिका खेल्नेहरू पुरस्कृत भएमा समाज बाँच्न लायक पनि नहुने उनको भनाई छ ।
राजनीतिलाई आकर्षणको विषय बनाउनका लागि राजनीतिमा असल पात्र, प्रवृत्ति र चरित्रलाई अगाडि सार्नुपर्ने उनले बताए ।
'प्रतिगामी भूमिका खेल्नेहरू, आन्दोलनको विकासमा बाधक हुनेहरु यदी पुरस्कृत हुन पुगे भने हाम्रो यो समाज बाँच्न लायक हुँदैन । त्यस हुनाले यो राजनीति जनताको प्यारो राजनीति हुन सक्दैन । राजनीतिलाई आकर्षणको विषय बनाउने हो भने राजनीतिमा असल प्रवृत्ति, असल चरित्र, असल पात्रहरूलाई अगाडि सार्नुपर्दछ’ उनले भने ।
अध्यक्ष नेपालले युट्युबले झुठा समाचार र झुठा सूचना आएका कारण यसप्रति गुनासोहरू आइरहेकाले झुठा समाचार सूचना सम्प्रेषण नगर्न आग्रहसमेत गरे । उनले युट्युबरलाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गरे । सञ्चारमाध्यमलाई सही बाटोमा हिँडाउनका लागि राज्यले प्रेरित गर्नुपर्नेमा उनले जोड दिए ।
'पहिलो प्रयोग गर्नेलाई नियन्त्रण गर्नुपर्छ । दोस्रो त्यसले सिस्टमले नै काम गर्न सकेन भने अर्को हिसाबले जानुपर्ने अन्तिम विकल्प बाँकी रहन्छ’ उनले भने ।
अध्यक्ष नेपालले मिडियाको जनचेतना जघाउने, देशभक्तिको भावना जघाउने र लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् गर्नलाई अभिप्रेरित गर्ने जिम्मेवारी भएकाले सोहीअनुसार लाग्न सञ्चारकर्मीहरूलाई आग्रहसमेत गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0