प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरूको निद्रा उड्नेगरी स्थानीय तह निर्वाचनको तयारीमा आफ्नो पार्टी लागिपर्ने बताएका छन् ।
सत्तारुढ गठबन्धन केही नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणामले उनीहरूलाई भोक-निद्रा हराम बनाउनुपर्ने बताएका हुन् ।
'हामीले यस निर्वाचनबाट पछिल्लो प्रादेशिक र संसदीय निर्वाचनहरूको झलक दिनुछ, ताकि यिनीहरूको मनमा अहिल्यैदेखि ढ्याङ्ग्रो ठोकियोस् । अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस् । यिनलाई अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस् । यो गर्ने भनेको स्थानीय तह निर्वाचनमा हो । म यहीँ उत्साह बोकेर जान आग्रह गर्दछु,' उनले भने ।
पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मतबाट हराउने उनले दोहोर्याए ।
'यो गठबन्धन केही पनि होइन । अदालतले बनाइ दिएको हो । अदालतले बनाएका काँचो सिसाको गठबन्धन, अदालतले बनाइदिएको सरकार, मुद्दा जितेर आएको सरकार, मुद्दा लड्न जा भन्ने, जनताको बीचमा हामी जाने । जनताको मत हामीले लिने, उनीहरूलाई हराउने' उनले भने ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बीचमा जान पनि पार्टीका नेता, कार्यकर्तालाई पटकपटक सचेत गराए ।
अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब फेरि हटनुनपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0